काठमाडौं । प्रभु बैंक लिमिटेडको अध्यक्षमा सञ्चालक किशोरजंग कार्की र सञ्चालक पदमा रमेशराज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले यसअघि सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक रहेका कार्कीलाई अध्यक्ष पदमा र अर्याललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक रहेका नवनियुक्त अध्यक्ष कार्की र सञ्चालक अर्यालको कुशल नेतृत्वले आगामी समय बैंकले थप उचाइ लिने विश्वास गरिएको छ । पूर्वअध्यक्ष लिलाप्रकाश सिटौलाको कार्यकाल गत चैतमा सकिएसँगै अध्यक्ष पद रिक्त रहेको रहेको थियो । यो अवस्थामा बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष पदमा चयन गरेको हो । बैंकका अनुसार विसं २०३९ भदौ ९ देखि सरकारी सेवा (निजामती)मा प्रवेश गरेका कार्कीे करिब ३८ वर्ष विभिन्न पद तथा निकाय जिम्मेवारी निर्वाह गरी २०७७ वैशाख ६ देखि सेवानिवृत्त भएका थिए । कार्कीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सहसचिवका रूपमा अनिवार्य अवकाश लिएका थिए । जनप्रशासनमा स्नातकोत्तर गरेका कार्कीले अर्थशास्त्र र नेपालीमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेकासँगै दर्जन संघसंस्थासँग लामो समय काम गरेको अनुभव रहेको छ । ओखलढुंगाको माम्खामा जन्मिएका कार्कीले लोकसेवा आयोग, अर्थ मन्त्रालय, सूचना तथा सञ्चार, सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवका रूपमा काम गरेका थिए ।
यसैगरी नवनियुक्त सञ्चालक अर्यालसँग पनि बैंकिङ क्षेत्रको निकै नैै गहिरो अनुभव रहेको छ । यसअघि तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैंक (हाल कुमारी बैैंक) प्रमुख कार्यकारी अधिकृत भई काम गरेका नवनियुक्त सञ्चालक अर्यालले त्रिभुवन विश्वविद्यालय शंकरदेव क्याम्पसबाट एमबीए उत्तीर्ण अर्याल विभिन्न बैंकिङ, कर, रिस्क, कर्पोरेट, एकाउन्टिङ प्रोफेसन, इन्फरर्मेसन एन्ड सेक्युरिटी, एन्ट्री मनी लाउन्डरिङ कम्बेटिङ द फाइनान्स अफ टेरोरिजम, बैंकिङ लिडरसिपलगायत विषयमा तालिम प्राप्त गरेको अनुभव रहेको छ । तत्कालीन नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)बाट बैंकिङ करियर सुरु गरेका अर्यालले कुमारी बैंकको सीईओ, डीसीओलगायत विभिन्न पदमा रहेर काम गरेका थिए । नवनियुक्त सञ्चालक अर्यालले शंकरदेव क्याम्पस पुतलीसडबाट एमबीए, शंकरदेब क्याम्पसबाट बिकम र आईकम गरेका छन् ।