काठमाडौं । मोरङ उद्योग व्यापार संघले बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा सञ्चालन गरेको छ । विभिन्न रोगको विशेषज्ञ डाक्टरहरूबाट सेवा दिने उद्देश्यले मोरङको फेवा सेकेन्डरी बोर्डिङ स्कुल, केराबारीमा शुक्रबार सो शिविर कार्यक्रममा सञ्चालन गरिएको हो ।
संघले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको संयुक्त आयोजना तथा केराबारी व्यापार प्रबन्ध समितिको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जनाएको छ । शिविरमा जनरल मेडिसिन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी नसा रोग सेवा, बालरोग सेवा, नाक, कान, घाँटी सेवा, दन्तरोग सेवा, शल्यक्रिया चिकित्सा सेवा, आँखाजाँच सेवा, रेडियोलोजी सेवा, ईसीजी (मुटुको जाँच) सेवा, ल्याब परीक्षण (रगत, पिसाब जाँच) सेवाहरूबाट सात सयभन्दा बढी स्थानीयवासीहरूले सेवा लिएको संघका अध्यक्ष अनुपम राठीले बताए । दूरदराजमा रहेका सर्वसाधारणहरूको स्वास्थ्य उपचारलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।