काठमाडौं, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धि संस्थागत गर्न कांग्रेस पार्टीलाई व्यवस्थित र सशक्त बनाउनु जरुरी रहेको बताएका छन्।कांग्रेसको केन्द्रीय समिति बैठकमा धारणा राख्दै पूर्वमहामन्त्री सिंहले पार्टीमा आपसी दोषारोपण होइन, संगठन मजबुत बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।
‘कांग्रेस राम्रोसँग व्यवस्थापन भयो भने मात्रै लोकतान्त्रिक उपलब्धिहरू संस्थागत हुन्छन्,’ उनले भने। साथै उनले महाधिवेशन नजिकिएकाले आवश्यक प्रक्रियाहरू छिटो टुंग्याउनुपर्ने धारणा राखे।सरकारमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्रीको भूमिका निर्वाह गरिरहेका सिंहले मन्त्रालयबाट भएका कामहरूको फेहरिस्त पनि बैठकमा प्रस्तुत गरे। उनले राजनीतिक स्थिरता बिना आर्थिक समृद्धि असम्भव रहेको उल्लेख गर्दै, “सभापतिजीको नेतृत्वमा बनेको ७ बुँदे सहमति र गठबन्धनलाई अघि बढाउन आवश्यक छ,” भने।