काठमाडौँ । नेपाली आयुर्वेदिक तथा परम्परागत औषधि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सहज बनाउन कुशल उत्पादन अभ्यास (जीएमपी) प्रमाणपत्र दिइने भएको छ ।
नेपालमा विभिन्न कम्पनीहरू आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीका औषधि उत्पादन गर्दै आए पनि हालसम्म ती औषधि अन्तर्राष्ट्रिय बजारमा वैधानिकरूपमा निर्यात गर्न जीएमपी प्रमाणपत्रको व्यवस्था थिएन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जीएमपी प्रमाणपत्र दिने व्यवस्थासम्बन्धी मापदण्ड स्वीकृत गरेका हुन् । जीएमपीको दोस्रो संहिताले निर्यात समस्याको समाधान गर्ने अपेक्षा गरिएको छ । यो संहिताअनुसार उत्पादकहरूले उत्पादन प्रक्रिया, भण्डारण, गुणस्तर परीक्षण, आधुनिक प्रविधिको प्रयोगलगायतका मापदण्डहरू पूरा गर्नुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संहिताको मापदण्ड पूरा गर्ने उत्पादकले औषधि व्यवस्था विभागबाट जीएमपी प्रमाणपत्र प्राप्त गर्ने र जसले आयुर्वेद, होमियोप्याथीलगायत औषधिहरूको वैधानिक नियात मार्ग खुलाउने जानकारी दिए । हालसम्म ‘एलोप्याथिक’ औषधिहरूमा मात्र जीएमपी प्रमाणपत्र प्रदान गरिँदै आएको थियो । परम्परागत औषधिले जीएमपी नपाउँदा विदेश निर्यात गर्न सकिएको थिएन ।