वासिङ्टन डिसी । ट्विटरका सहसंस्थापक ज्याक डोर्सीले नयाँ मेसेजिङ एप ’बिटच्याट’ सार्वजनिक गरेका छन् । यो एपमा इन्टरनेट नभए पनि सजिलै म्यासेज पठाउन सकिन्छ । प्रयोगकर्ताहरूले यो एपमार्फत इन्टरनेटविना नै सन्देश पठाउन सक्नेछन् ।
यो गोपनीयताकेन्द्रित मेसेजिङ एप पियर–टु–पियर प्रविधिमा आधारित रहेको बताइएको छ । यसलाई कुनै पनि केन्द्रीकृत सर्भर वा फोन नेटवर्कको आवश्यकता पर्दैन । हाल, यो एप टेस्ट फ्लाइट प्लेटफर्ममा आईफोन प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ ।
ह्वाट्सएप वा टेलिग्राम जस्ता सन्देश पठाउन मिल्ने परम्परागत एपभन्दा फरक यो बिटच्याट पूर्ण रूपमा विकेन्द्रीकृत छ । प्रयोगकर्ताहरूले इमेल वा फोन नम्बरको साथ खाता सिर्जना गर्न आवश्यक पर्दैन । सन्देशहरू प्रयोगकर्ताको उपकरणमा मात्र भण्डारण गरिन्छन् र केही समयपछि स्वचालित रूपमा मेटाइन्छ । यसले प्रयोगकर्ताको गोपनीयता र सेन्सरशिपबाट सुरक्षा सुनिश्चित गर्दछ ।
बिटच्याट हाल बिटा परीक्षण चरणमा छ र एप्पलको टेस्टफ्लाइट प्लेटफर्ममा मात्र उपलब्ध छ । यसको सुरुवात भएको केही समयमै १० हजार जना मानिसले यसको प्रयोग गरेका थिए ।