नेकपा माओवादी केन्द्र र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकता महाधिवेशन गर्ने समझदारी भएको छ। माओवादी केन्द्रले हाल सञ्चालन भइरहेको मध्यपहाडी लोकमार्ग अभियानपछि केन्द्रीय समिति बैठक राखी महाधिवेशनको मिति तय गर्ने तयारी गरेको छ। सोही महाधिवेशनमार्फत नेसपासँग पार्टी एकता गर्ने सहमति भएको हो। नेसपा अध्यक्ष यादवले “यसै वर्ष महाधिवेशनबाट एकीकृत पार्टी बनाउने सहमति भएको” बताएका छन्। उनले माओवादी केन्द्रको नाम हटाएर ‘कम्युनिस्ट पार्टी समाजवादी’ बनाउने पक्षमा आफू रहेको बताएका छन्। यद्यपि, महाधिवेशनले जे निर्णय गर्छ, त्यसलाई स्वीकार गर्ने उनले बताएका छन्। दुई दलबीच २०८० सालको जेठ ३ गते लिखित एकता सहमति भए पनि त्यसपछि पार्टी एकता तत्कालै कार्यान्वयनमा जान सकेन। जेठ १२ गते नेसपाका गंगानारायण श्रेष्ठले एकतर्फी रूपमा माओवादी केन्द्रमा प्रवेश गरेपछि पार्टीमा विवाद देखिएको थियो। सो घटनापछि अध्यक्ष यादवले “श्रेष्ठ माओवादीमा गएका, तर पार्टी एकता नभएको” टिप्पणी गरेका थिए।अब भने दुबै पक्ष ‘सम्मानजनक पार्टी एकता’ र ‘एकता महाधिवेशन’ गर्ने स्पष्ट तयारीमा छन्।