काठमाडौं । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध छ करोड रुपैयाँ बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार पौडेलले २०५४ साल माघ ८ गतेदेखि २०८० साल मंसिर १० गतेसम्मको सेवाकालमा पदीय हैसियतको दुरुपयोग गर्दै कुल छ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ ८२ पैसा बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेका छन् । उक्त सम्पत्ति वैधानिक स्रोतबाट आर्जन नगरिएको आयोगको दाबी छ । पौडेलले आफ्नो पदीय हैसियतअनुसार अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरिएको पाइएको आरोप समेत आयोगले लगाएको छ ।
आयोगले पौडेल र उनका एकाघर परिवारका सदस्यहरूले यो अवधिमा कुल तीन करोड ३९ लाख ८७ हजार चार सय ९० रुपैयाँ ६५ पैसा आय आर्जन गरेको देखिएको जनाएको छ । तर यस अवधिमा कुल नौ करोड ६६ लाख ८० हजार छ सय २० रुपैयाँ ४७ पैसा खर्च तथा लगानी गरेको देखिएकाले छ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ ८२ पैसाको स्रोत पुष्टि नभएको आयोगको दाबी छ ।
आयोगले पौडेलले सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति पत्नी हुमाकुमारी उपाध्यायको नाममा समेत राखेको देखिएको भन्दै सो मुद्दामा उनीमाथि पनि प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।