बेलायत । बेलायती प्रधानमन्त्री केइर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविरामका लागि मस्कोविरुद्ध थप दबाब सिर्जना गर्न आह्वान गरेका छन् ।
बेलायतबाट तथाकथित ‘इच्छुक गठबन्धन’को भिडियो कन्फरेन्स बैठकको सह–अध्यक्षता गर्दै दुवै नेताले युक्रेनका लागि युद्धविरामपछिको शान्ति सेनाको योजना तयार रहेको पनि बताएका छन् ।
स्टार्मरले भने, ‘हामीले शान्तिको तयारीका लागि आफ्नो कामलाई परिवर्तन गर्नु पर्छ, पुटिनलाई वार्ताको टेबलमा बस्न दबाब दिएर यो सम्भव बनाउनुपर्छ । यो समन्वित दबाबले फरक पार्नेछ ।’
म्याक्रोँले मित्र राष्ट्रहरूलाई ‘रूसमाथि दबाब बढाउन’ आह्वान गर्दै भने, ‘रूसमाथि दबाब बढाउनका लागि हामीलाई स्पष्टरूपमा केही नयाँ उपाय आवश्यक भएको छ ।’ उनले भने, ‘रुसी अर्थतन्त्रमा रहेको दबाबलाई परिमार्जन गर्नसक्ने नयाँ उपायको खाँचो देखिएको छ ।’
नेटोले कमान्ड सेन्टरको रुपमा प्रयोग गर्दै आएको उत्तर–पश्चिम लण्डनको नर्थवुडमा रहेको बेलायती सैन्य अखडाबाट यी दुई नेताले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, अमेरिकी सिनेटरलिण्डसे ग्राहम र रिचार्ड ब्लुमेन्थलले रोमबाट बैठकमा सहभागिता जनाएका थिए । रासस÷एएफपी