एथेन्स (ग्रिस) , ग्रिसमा नेपाली युवाहरूलाई बन्धक बनाउने कार्यमा संलग्न मोरङकी अनु कार्की उर्फ स्नेहा थापा पक्राउ परेकी छन्। पाकिस्तानी नागरिकसँग विवाह गरेर बसेकी कार्कीले सामाजिक सञ्जाल र एजेन्टमार्फत नेपालीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको खुलासा भएको हो।
नेपाली युवाहरूलाई “खाना खाएर आराम गर, भोलिदेखि काम लाग्छ” भन्दै विमानस्थलबाटै आफ्नो कोठामा लगेर पासपोर्ट खोस्ने, जबरजस्ती श्रममा लगाउने र दिनको ज्यालाबाट अधिकांश रकम आफैं राख्ने गरिएको पीडितहरूको गुनासो छ।
एक जना पीडितका अनुसार ३० नेपालीलाई बन्धक बनाएको सूचनापछि स्थानीय प्रहरीले उद्दार गरेको हो। उद्दारपछि खुलेको विवरण अनुसार उनीहरूले ३ हजारदेखि ६ हजार युरोसम्म बुझाएका थिए। पैसा नदिनेहरूलाई कुटपिट र ज्यान मार्ने धम्की दिने गरिएको थियो।
स्नेहा कार्की र उनको पाकिस्तानी गिरोहको आवरण रेस्टुरेन्ट सञ्चालकको देखिए पनि उनीहरू हजारभन्दा बढी नेपाली युवालाई फसाएको खुलेको छ। तीमध्ये ३० भन्दा बढी अहिले ग्रिसको कारागारमा रहेका छन्।