काठमाडौं, चीन भ्रमण सकेर स्वदेश फर्किएका नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय राजनीतिका तीन चर्चित विषयमा एकसाथ धारणा सार्वजनिक गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरिरहेको टिप्पणी गर्दै खनालले "गल्ती भएको भन्दै ज्यादती गर्नु स्वीकार्य छैन" भनेका छन्। त्यस्तै, पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख धरौटीमा छुटेका आफ्नै पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति संकेत गर्दै, "हामीले पनि प्रश्न गर्नुपर्ने हुन सक्छ" भन्दै सार्वजनिक आलोचनाको स्वर मिलाए।
पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनः सक्रिय हुने संकेतलाई भने उनले सकारात्मक पहल भन्दै स्वागत गरेका छन्। "वाम एकताको चाहना हो भने त्यो राम्रो हो," उनले भने। खनालले पार्टीको सचिवालय बैठकमा प्रस्तुत दस्ताबेजबारे चाँडै सार्वजनिक बहस गरिने जानकारी पनि दिए। उनले वैचारिक क्रान्तिदेखि कार्यदिशासम्म सशक्त वाम आन्दोलन निर्माणको आवश्यकता औँल्याए।