काठमाडौं । तामाकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण ६५० मेगावाट क्षमताको बनाउनुपर्नेमा दोलखाका राजनीतिक दल तथा सरोकारवालाहरूले जोड दिएका छन् ।
तामाकोशी तेस्रो निर्माणको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीहरूले सो आयोजना निर्माणमा अब ढिलाइ गर्न नहुनेमा पनि जोड दिए । उनीहरूले लाइसेन्स होल्ड गरेर राखेको तामाकोशी तेस्रोका आयोजना प्रवर्द्धक कम्पनी टी–थर्ड हाइड्रोका अध्यक्ष भवन भट्ट र प्रबन्ध निर्देशक गोरे शेर्पालाई तत्काल आयोजना अघि बढाउन वा छाड्न पनि आग्रह गरे । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत रहेका भट्टको कम्पनी टी–थर्ड हाइड्रो कम्पनी प्रालिले तामाकोशी तेस्रो बनाउने लामो समयदेखि लाइसेन्स दिएर काम नगरी बसेको छ । सुरुमा दुई सय मेगावाट क्षमताको जलविद्युत् बनाउन लाइसेन्स दिएका भट्टले काम नगरेपछि खारेज भएको थियो । तर पछि फेरि उनलै तीन सय ९७ मेगावाट क्षमताको आयोजना बनाउने भन्दै लाइसेन्स लिएका छन् ।
दोलखाका सरोकारवालाहरूले भने ६५० मेगावाट क्षमताको भन्दा कम क्षमताको आयोजना बन्न नदिने अडानमा छन् । कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाले भवन भट्टको कम्पनीले तामाकोशी तेस्रो निर्माण गर्न सक्नेमा आफूहरू विश्वस्त नभएको बताए । उनले भने, ‘दुई सय मेगावाट क्षमताको आयोजना त बनाउन नसकेर भट्टजीको लाइसेन्स खारेज भयो, अब तीन सय ९७ मेगावाटको बनाउँछौँ भनेर आउनुभएको छ । तपाईंहरूले बनाउन सक्नुहुन्न, छाडिदिनुस् ।’ यस्तै, उनले आयोजना छ सयभन्दा कम मेगावाटको बनाउन नहुनेमा पनि जोड दिए ।
छलफलमा पूर्वमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले लामो समयसम्म लाइसेन्स होल्ड गरेर प्रवर्द्धक कम्पनीले दोलखावासीमाथि गम्भीर घात गरेको बताए । उनले दोलखाका राजनीतिक दलदेखि नागरिक समाजसम्मले खोज्दा पनि प्रवर्द्धक कम्पनीका प्रमुख भवन भट्टलाई भेट्न नसकेको बताए । ‘धेरै लामो समयसम्म खोजी गर्नमै बित्यो, ऊर्जामन्त्री गुहारेपछि मात्र सम्पर्क भएर यो कार्यक्रम तय गरिएको हो, अब दोलखाली जनता र राजनीतिक दलहरू तामाकोशी तेस्रोमा भइरहेको ढिलाइलाई सहने अवस्थामा छैनन्,’ उनले भने । उनले पनि तामाकोशी तेस्रो छ सय ५० मेगावाट क्षमताकै बन्नुपर्ने बटमलाइन सुनाए ।
प्रतिनिधिसभा सदस्य एवं माओवादी नेता गंगा काकीले छ सय ५० मेगावाट क्षमताको नबनाउने हो भने प्रवर्द्धन कम्पनी सिन्धुपाल्चोक र दोलखाको बोर्डर मुडे कटेर नआउने चेतावनी दिए । ‘लाइसेन्स होल्ड गरेर गर्नुसम्मको अपराध गरिसक्नु भयो दोलखावासीलाई । अब तत्कालै अघि नबढाउने र पूर्ण क्षमताको छ सय ५० मेगावाट नबनाउने हो भने तपाईंहरू मुढे कटेर दोलखातिर नआए हुन्छ । कडा लाग्दा यो सत्य जनताको तर्फबाट मैले बोल्नै परेको छ,’ उनले भने । राष्ट्रियसभा सदस्य घनश्याम रिजाल, पूर्वमन्त्री आनन्द पोखरेल, पूर्वसांसदहरू जीपछिरिङ लामा शेर्पा र दिव्यमणि राजभण्डारी, देवी खड्काले आयोजना बनाउनेतिर ध्यान नभए गर्दिनँ भनेर विकल्प खुला गर्न सुझाव दिए ।
कार्यक्रममा प्रवर्द्धक कम्पनीका अध्यक्ष भवन भट्ट र प्रबन्ध निर्देशक गोरे लामाले अहिलेसम्म भइरहेको प्रगतिका बारेमा जानकारी दिएका थिए । प्रवद्र्धक कम्पनीका प्रबन्ध निर्देशक गोरे लामाले छ सय ५० मेगावाट क्षमतामा बनाउन नसकिने बताए । दुई सयबाट तीन सय ९७ मेगावाट क्षमतासम्मको बनाउन आफूहरू तयार रहेको भन्दै लामाले त्यहाँभन्दामाथि जान नसकिने उल्लेख गरे । छ सय ५० मेगावाट क्षमताको बनाउन एक सय मिटर अग्लो ड्याम बनाउनुपर्ने भएकाले त्यो नेपालमा सम्भव नभएको उनको भनाइ थियो । साथै, च्छोरोल्पा हिमताल फुट्न सक्ने सम्भवना भएकाले ठूलो क्षमताको जलविद्युत् आयोजना बनाउन ठूलो जनधनको क्षति हुन सक्ने उनले बताए ।
सामाजिक तथा प्राविधिक कारणले गर्दा पनि तीन सय ९७ मेगावाट क्षमताभन्दामाथिको आयोजना बनाउन नसक्ने प्रबन्ध कम्पनीका निर्देशक गोरे लामाले दाबी गरे । यस्तै, उनले तीन सय ९७ मेगावाट क्षमता आयोजना बनाउनको लागि सहयोग गर्न आग्रह गरे । सो आयोजना बनाउनका लागि कोरियन कम्पनी इच्छुक भएकाले सन् २०२७ मा निर्माण गर्न वित्तीय सम्झौता गरिसक्ने र सन् २०३४ सम्ममा आयोजना निर्माणको सम्पूर्ण काम सक्ने दाबी गरे ।