काठमाडौँ । लाखौँ रुपैयाँ घूस डिलको अडियो सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सोमबार पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको राजीनामा पत्रमा गुप्ताले आफूमाथिको आरोपको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्याग गरेको उल्लेख गरेका छन्। कास्की मालपोत कार्यालयको सरुवा र भूमि आयोगको सदस्य नियुक्तिको नाममा गुप्ताले ७८ लाख रुपैयाँ घूस डिल गरेको आरोप छ। उक्त प्रकरणसम्बन्धी अडियो रेकर्ड, तस्बिर र नोट नम्बरसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ। आर्थिक दैनिकले पहिलोपटक सार्वजनिक गरेको अडियोमा मन्त्री गुप्ता र उनकी भतिजी भनिएकी मेलिना नाम गरेकी महिलाले व्यापारीसँग रकम माग्दै गरेको स्पष्ट सुनिन्छ। मन्त्री निवासमै रकम ल्याउन निर्देशन दिइएको, दराजमा पैसा राखिएको र पूर्वमन्त्रीमार्फत बारम्बार लेनदेन भएको विवरण अडियोमा समेटिएको छ। यो पनि पढ्नुहोस् सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी