काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेज, सानेपा र पशुपति शिवाजी निर्माण सेवाबीच सम्झौता भएको छ । दुवै संस्थाहरू मिली स्नातक तहका विद्यार्थीहरूलाई बजारोन्मुख शिक्षा दिने सम्झौता भएको हो ।
देशमा वार्षिक हजारौं सिभिल इन्जिनियरहरू उत्पादन भए पनि कयौँसँग निर्माण व्यवसायीहरूलाई आवश्यक आधारभूत सीप अभाव हुँदा इन्जिनियरले काम नपाउने र निर्माण व्यवसायीले इन्जिनियर नपाउने समस्या आउने गरेको छ । उक्त समस्याको समाधान गर्न बजारोन्मुख शिक्षा दिन एभरेस्ट इन्जिनियरिङ कलेज र पशुपति शिवाजी निर्माण सेवाले हातेमालो गर्ने निर्णय गरी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नेपालका निर्माण व्यवसायीहरूलाई आवश्यक सीपसहितका इन्जिनियरहरू उत्पादन गर्ने गरी कलेजको पाठ्यक्रममा क्रमिक परिमार्जन गर्ने, ननक्रेडिट कोर्स सञ्चालन गर्न सहकार्य गर्ने, सीपमूलक तालिम दिने, अन्तिम वर्षको प्रोजेक्टमा संयुक्त सुपरभिजन गर्ने, बजारको मागअनुसारका नयाँ इलेक्टिभ विषय थप गर्नेजस्ता बुँदाहरू राखिएका छन् ।