मुस्ताङ । गए रातिको वर्षासँगै पहिरो खसेपछि उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक बुधबार बिहानैदेखि अवरुद्ध बनेको जनाएको छ ।
पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । मुस्ताङमा कागबेनी–कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् ।
लामाले माथिबाट ठूलाठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने भन्दै तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भएको बताए । गए रातिको वर्षासँगै मुस्ताङमा कालीगण्डकी नदीको बाहव उच्च भएको छ । यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।