काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको बताएका छन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बुधबार भएको भेटमा उनले बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए । यस्तै, उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार एक सय अर्ब डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको उल्लेख गरे । यसका लागि आठ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताए । १०० अर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अंकको आर्थिक वृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारी समेत उनले दिएका थिए । अध्यक्ष पाण्डेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन सरकारसँग आग्रह गरे ।
सो अवसरमा अर्थमन्त्री पौडेलले परिसंघले उठाएका विषयलाई गम्भीरतापूर्वक लिएको बताए । उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई सरकारले अपनत्व लिएको र कार्यान्वयन प्रक्रियामा लगिसकेको बताए । चरणबद्धरूपमा अगाडि बढाउनुपर्ने सुझावहरूलाई सोहीअनुरूप अगाडि बढाइने उनको भनाइ थियो । अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजस्वमा परेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ सालको बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे । अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरू राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।