नारायणगढ (चितवन) । देवघाटधाममा बिहीबारदेखि साउने मेला सुरु भएको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको हुँदा मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिनालाई शिवको प्रिय महिना मानिने हुँदा भक्तजनहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउनमा करिब पाँच लाख भक्तजनहरु मेला भर्न आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी गराए । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । सोमबार अधिक भक्तजन आउने अपेक्षा गरिएको उनले बताएका छन् । साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।