काठमाडौं । कर्मचारी सञ्चय कोषले साउन १ गतेदेखि लागू हुनेगरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक व्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक व्याजदर परिवर्तन गरी नयाँ व्याजदर निर्धारण गरेको छ ।
कोष सञ्चालक समितिको निर्णयबमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुनेगरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक व्याजदर पाँच दशमलव शून्य प्रतिशत व्याजदर निर्धारण गरिएको कोषले जानकारी दिएको छ ।
यसैगरी, कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने व्याजदरमध्ये विशेष सापटीमा छ दशमलव दुई पाँच प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा सात दशमलव दुई पाँच प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा सात दशमलव पाँच शून्य प्रतिशत निर्धारण गरेको छ । विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको व्याज नियमितरूपमा चुक्ता गर्ने सञ्चयकर्ताहरूको हकमा शून्य दशमलव दुई पाँच प्रतिशतले छुट दिने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि एक करोडसम्म र घर मर्मत गर्नका लागि ३० लाखसम्म सापटी प्रदान गर्ने जानकारी दिएको छ । यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति÷पत्नी वा छोरा÷छोरीलाई उच्च शिक्षा अध्ययन गर्ने/गराउने प्रयोजनका लागि शैक्षिक सापटी ४० लाखसम्म र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी ६० लाखसम्म प्रदान गर्दै आएको छ । साथै, कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा प्रदान गर्ने गरेको छ ।
कोषबाट चालू आर्थिक वर्षमा एक लाख ५८ हजार तीन सय ४४ सञ्चयकर्ताले विशेष सापटी, एक लाख १४ हजार चार सय ५६ सञ्चयकर्ताले कोष भुक्तानी, दुई हजार नौ सय २६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार दुई सय ९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र एक हजार सात सय ९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन् ।
काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरूमार्फत सञ्चयकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गर्ने कार्य हुँदै आएको छ ।
हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवं संस्थागत विद्यालयतर्फका गरी करिब पाँच लाख ८० हजार सञ्चयकर्ता र करिब ९९ हजार तीन सय ९१ योगदानकर्ता गरी कुल छ लाख ७९ हजार तीन सय ९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आबद्ध छन् ।