काठमाडौं । टिकटकले शार्क ट्याङ्क नेपालसँगको आफ्नो औपचारिक साझेदारी गरेको छ । यसअन्तर्गत शोको पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर बनेको हो ।
यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको कम्पनीले जनाएको छ । शार्क ट्याङ्क नेपालले नेपाली दर्शकहरूलाई यो प्रतिष्ठित अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलोपटक प्रस्तुत गरेको हो । शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रियस्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आईडियाहरू पिच गर्ने अवसर पाउनेछन् । टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नविदले शार्क ट्याङ्क नेपालसँगको यो साझेदारीले क्षेत्रीय क्रियटरहरूलाई सशक्त पार्ने र प्रेरणादायी उद्यमशील यात्राहरूलाई उजागर गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउने बताए । यो सहकार्यले इनोभेसनलाई प्रवर्द्धन गर्ने, व्यावसायिक स्टोरीटेलिङलाई प्रोत्साहित गर्ने र नेपालको स्टार्टअप इकोसिस्टममा योगदान पुर्याउने उनको विश्वास छ ।
हाल शार्क ट्याङ्क नेपालका सबै शार्कहरू टिकटकमा सक्रिय छन्, जहाँ उनीहरूले आफ्ना अनुभव, सुझाव र व्यावसायिक दृष्टिकोण सिधै दर्शकमाझ प्रस्तुत गरिरहेका छन् । उनीहरूको सक्रियताले टिकटकमा नेपालभित्र र बाहिर समेत दर्शक र क्रियटरहरूको भाइब्रेन्ट कम्युनिटी निर्माणमा सहयोग पु¥याइरहेको छ । शोको आधिकारिक ह्यासट्याग शार्क ट्याङ्क नेपाल टिकटकमा शोसम्बन्धी सम्पूर्ण सामग्रीहरूको केन्द्र बनेको छ ।