पोखरा । पोखरा पर्यटन परिषद्ले चीनको अलीस्थित विमानस्थलबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि पहल गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षण गराएको छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा प्रदेशका मुख्यमन्त्री पाण्डेको नेतृत्वमा हुन लागेको चीनको औपचारिक भ्रमणमा प्रस्तुत गर्नुुपर्ने विभिन्न विषयका सम्बन्धमा मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित छलफलमा उक्त ध्यानकर्षण गराइएको हो । मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छिमेकी र एसियाका अन्य मुलुकहरूबाट सिधा उडान सञ्चालन गरी पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न अनुरोध गरेका थिए ।
धार्मिक महत्व बोकेको कैलाश मानसरोवर यात्रालाई सहज बनाउन हालै मात्र चीन सरकारले मानसरोवर नजिकै अलीमा रहेको विमानस्थललाई अन्तर्र्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरिरहेको बताउँदै उनले सो विमानस्थलवाट पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि आवश्यक पहल गर्न आग्रह गरे । गण्डकी प्रदेशको आर्थिक मेरुदण्डका रूपमा रहेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र मुस्ताङ जिल्लास्थित कोरोला नाका चलायमान गर्न सकेमा मात्र समग्र गण्डकी प्रदेशको पर्यटन तथा समग्र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनले बताए ।
‘पोखराबाट चीनका लागि नजिकको नाका कोरोला नाका अझै पर्यटकको आवागमन र व्यापारिक प्रयोजनका लागी पूर्णरूपमा सञ्चालनमा आइसकेको छैन’, ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘यस नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन सकेमा समग्र गण्डकी प्रदेशको नै आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ । यसका साथै धार्मिक तथा साहसिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा रहेको कैलाश मानसरोवर पर्यटक गतिविधि सोही नाका हुँदै सञ्चालन गर्न सकेमा गण्डकी प्रदेशको पर्यटनको विकासमा टेवा पुर्याउनेछ ।’
आवश्यक अध्यागमन, भन्सारलगायतका पूर्वाधार निर्माण गरी कोरोला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पहलका लागि अनुरोध गर्दै अध्यक्ष पहारीले निकट भविष्यमा नै गण्डकी प्रदेश सरकार, नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा पर्यटन परिषद् र निजी क्षेत्रका प्रतिनिधिसहितको एक टोलीलाई सो नाकाबाट कैलाश मानसरोवर सम्भाव्यता अध्ययन भ्रमणको पहलकदमी गरिदिन मुख्यमन्त्रीसँग आग्रह गरे । छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाकालाई व्यवस्थितरूपमा सञ्चालन गराउने सम्बन्धमा आफूले भ्रमणका क्रममा पहल गर्ने उल्लेख गरेका छन् । कोरोला नाका पूर्णरूपमा सञ्चालनमा आउँदा त्यसले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने उनको भनाइ थियो ।