काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालको प्रमुख ई–कमर्स प्लेटफार्म दराजसँग सहकार्य गर्दै महाबचत बजारमा सहभागिता जनाएको छ । यो अभियान साउन २ गतेदेखि सुरु भइसकेको छ भने साउन १६ गतेसम्म चल्नेछ ।
यस सहकार्यबाट भिभोले आफ्नो डिजिटल उपस्थिति बलियो बनाउनुका साथै नेपालभरका ग्राहकहरूलाई यसको नवीन प्रविधि सजिलै पुग्ने बनाउने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत, भिभोले विभिन्न रोमाञ्चक अफरहरू ल्याएको छ । यसमा मेगा उपहारमा एक भाग्यशाली विजेताले दराजको डेलिभरी ब्यागमा भिभोको ब्रान्डिङ स्पोट गरेर सामाजिक सञ्जालमा ट्याग गर्दा भिभो भी५० लाइट जित्न सक्नेछन् । साथै, फ्ल्यास सेलमा भिभो बड्स मात्र आठ सय ४८ रुपैयाँमा उपलब्ध हुनेछ भने भिभो स्मार्टफोनहरूको खरिदमा अधिकतम १० हजार रुपैयाँसम्मको छुट कुपन पनि प्राप्त गर्न सकिनेछ ।
‘दराजसँगको यो साझेदारीले ग्राहकहरूलाई उत्तम मूल्य र सुविधा प्रदान गर्ने हाम्रो साझा लक्ष्यलाई पूरा गर्दछ’, भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले भने, ‘यसले हामीलाई ग्राहकसम्म पुग्न र डिजिटल उपभोक्ताहरूसँग अझ अर्थपूर्णरूपमा जोडिन सक्षम बनाएको छ ।’ यो सहकार्यले नेपालमा भिभोको डिजिटल वृद्धिको यात्रामा एउटा महत्वपूर्ण कदम पनि चालेको जनाइएको छ ।
आकर्षक अफरहरूलाई अन्तरक्रियात्मक सहभागितासँग जोडेर भिभोले आफूलाई ग्राहक–केन्द्रित ब्रान्डको रूपमा सुदृढ गरिरहेको छ । साथै, नेपालको अग्रणी अनलाइन प्लेटफर्म दराजमार्फत आफ्ना नवीनतम प्रविधि देशको हरेक कुनामा पुर्याउने सुनिश्चित गरिरहेको छ ।