सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको गेग्र्यानयुक्त बाढीले पुरिँदा नदी थुनिएको छ। यसले करिब एक किलोमिटर लामो क्षेत्र पानीले ढाकिएको ताल जस्तो बनेको छ।कोसी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल असार २६ यताको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनाएको हो। पुलको एक स्पान पुरिँदा नदीको बहाव अवरुद्ध भएको हो।
पुलको आधा भाग पहिले नै बाढीले पुरिए पनि हालै आएको अर्को बाढीले पुलका पिलरहरू समेत कमजोर बनाएको छ। प्रशासनका अनुसार स्थानीय तहको सहकार्यमा पानीको बहाव खुलाइएको छ र अवस्था अहिले सामान्य रहेको बताइए पनि जोखिम अझै टरिसकेको छैन।सिखु खोलाबाट आएको बाढीले ल्याएको ढुंगा, माटो र बालुवाले नदीको बहाव रोकिँदा एक किलोमिटरभन्दा बढी क्षेत्र जलमग्न भएको छ । पानीको सतह बढेपछि पुलमाथिबाटै बहाव भइरहेको छ। पुल पुरिँदा नदी बाँध झैँ देखिन थालेको पाइएको छ ।
यस क्षेत्रमै निर्माण भइरहेको ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको पावर हाउससमेत उच्च जोखिममा परेको छ। स्थानीयले प्रशासनलाई स्थलगत निरीक्षण गरेर जोखिमको यथार्थ मूल्यांकन गर्न आग्रह गरेका छन्। प्रदेश सरकारको १५ करोड रुपैयाँभन्दा बढीको लागतमा २०७६ सालदेखि निर्माण सुरु भएको यो पुल बजेट अभावका कारण अहिलेसम्म पूर्ण हुन सकेको थिएन। अब पुलको पुनर्निर्माणसमेत चुनौतीपूर्ण देखिएको स्थानीयहरूको भनाइ छ।