काठमाडौं, साउन २९
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ । दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लागेका भण्डारीको लामो समयसम्मको योगदानलाई कदर गर्दै नेपाली कांग्रेसले सचिवमा नियुक्त गरेको हो । उनीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्री लालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ट संस्थाको रूपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार सेयर सदस्य छन् ।
संस्थाको लागानीमा श्री लालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्री लालीगुराँस अस्पताल, भैरवकुण्ड हाइड्रोपावर र श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् । सबै सस्थाको नेतृत्वदायी भूमिकामा रहेका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरूपमा अघि बढाउँदै सहकारी र वित्तीय संस्थाको विकासमा अथकरूपमा लागिरहने बताए । नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहेका भण्डारीलाई सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्त गरेको हो ।
हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् । नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित)को धारा २५–९ बमोजिम उनलाई नियुक्त गरेको पत्रमा उल्लेख छ । नियुक्ति भएलगत्तै उनले पार्टीको केन्द्रीय वित्तीय विभागलाई थप सुदृढ र गतिशील बनाउन दत्तचित्त भई लागिपर्ने बताए । यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसकेका भण्डारी कुशल सहकारीकर्मीको रूपमा परिचित छन् ।