जाकर्ता । आइतबार दिउँसो इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तको तालिसे टापु नजिकै केएम बार्सिलोना भीए नामक यात्रुवाहक जहाजमा ठूलो आगलागी भएको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
जहाजमा दुई सय ८० यात्रु सवार थिए, जसमध्ये करिब एक सय ५० यात्रुलाई सकुशल उद्धार गरिएको छ । एक सयभन्दा बढी बेपत्ता छन्, तर उनीहरूको खोजी जारी छ । आगो तीव्र गतिमा फैलिएको कारण धेरै यात्रुहरूले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फालेका थिए ।
यो जहाज तलाउड टापुबाट मनाडो बन्दरगाहतर्फ गइरहेको थियो । क्षेत्रीय प्रकोप व्यवस्थापन निकायले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार आगो दिउँसो साढे एक बजेतिर सुरु भएको थियो र चाँडै जहाजभरि फैलिएको थियो ।
आगलागीको कारण अझै थाहा हुन सकेको छैन । इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सी, नौसेना, तटरक्षक र स्थानीय माझीहरूले तुरुन्तै उद्धार कार्य सुरु गरेका थिए ।