काठमाडौं । नेपाल र चीनबीच चार वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्ताका क्रममा सो परियोजनाहरूमा हस्ताक्षर भएको हो ।
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टसन निर्माणसम्बन्धी परियोजना र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ । यसमा नेपालको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् । त्यस्तै, दुई देशबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबाट एक हजार दुई सयभन्दा बढी सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरूले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ ।
यसैगरी, रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन् । त्यस्तै, रसुवा जिल्लामा केही समयअघि बाढीले पुर्याएको भौतिक संरचनाको पुनःनिर्माणमा चीनले सहयोग गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरूको पुनःर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए । यस्तै अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनःनिर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुनःनिर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए । ‘आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनःनिर्माणलाई छिटो अघि बढाउँछौँ’, अर्थमन्त्री पौडेलले भने ।