काठमाडौं । एनआईसी एसिया बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ २८ वर्षअघि आजकै दिन सुरु भएको यस बैंकको अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २८औँ वार्षिकोत्सव मनाउन गइरहेको छ ।
यस दौरानमा बैंकप्रति अनवरतरूपमा अगाध स्नेह एवं भरोसा दर्शाई सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले धन्यवाद व्यक्त गरेको छ ।
बैंकले भनेको छ, ‘आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौँ त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधाहरू प्रदान गर्दै सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौँ ।’
डिजिटल फर्स्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, छ सय ७० वटा एटीएम, एक सय १६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौँ ग्राहकमाझ गतिशील बैंकिङ पार्टनरको रूपमा एनआईसी एसिया बैंक जोडिएको छ ।
देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्बाधरूपमा बैंकिङ सेवा देशको कुना–कुनामा पुर्याउन एनआईसी एसिया बैंक सफल भएको छ ।
एनआईसी एसिया बैंकले गर्ने लिलाम बिक्री अब पोर्टलमा हेर्न सकिने
एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा र सो सम्पत्तीको स्थान (लोकेसन) पहिचानका लागि ‘गुगल म्याप’सहितका विविध जानकारीहरू रहेका छन् ।
लिलाम बिक्रीमा राखेको सम्पत्ति खरिद गर्न चाहने ग्राहकहरूले थप जानकारी लिन चाहेमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ । बैंकले सञ्चालनमा ल्याएको सो अनलाइन पोर्टलमा नियमितरूपमा अद्यावधिक हुनेछ ।