काठमाडौ । ३१औं कार्गो दिवस यही साउन १३ गते राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को आयोजनामा राजधानीको हायात रिजेन्सी होटलमा ‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका’ शीर्षकमा केन्द्रित रहेर दिवस मनाउन लागिएको हो ।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेफा वरिष्ठ उपाध्यक्ष तथा कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालले कार्गो दिवसको औचित्य, उद्देश्य र कार्यक्रमका बारेमा जानकारी दिएका थिए । उनका अनुसार कार्गो दिवसको सुरुवात नेफामा आबद्ध सदस्यहरूबीच पारिवारिक सम्बन्ध र भाइचाराको सञ्जाल विस्तार गर्नका लागि गरिएको हो । यद्यपि, पछिल्ला वर्षहरूमा लजिस्टिक तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या, चुनौती र सम्भावनाको गहन छलफल गर्ने रणनीतिक थलोको रूपमा यो दिवस स्थापित हुँदै आएको छ । अग्रवालका अनुसार नेपालमा प्रत्येक वर्ष जुलाई २९ तारिखमा कार्गो दिवस मनाइँदै आएको छ । ‘नेपालजस्तो स्थलरुद्ध मुलुकमा लजिस्टिक प्रणाली सशक्त हुनु आवश्यक छ,’ उनले भने, ‘यसले उत्पादन लागत घटाउने, समयमै आयात–निर्यात सुनिश्चित गर्ने र आर्थिक प्रतिस्पर्धा बढाउने काम गर्छ ।’
आयोजकका अनुसार कार्यक्रम तीन सत्रमा सञ्चालन हुनेछ । पहिलो सत्रमा उद्घाटन समारोहसहित ‘नेफा वार्षिक अवार्ड २०२५’ वितरण गरिनेछ । यो अवार्ड नेपाली लजिस्टिक्स क्षेत्रका विशिष्ट योगदानकर्ताहरूलाई दिइनेछ । यस्तै, दोस्रो सत्रमा ‘लजिस्टिक विकास र बीबीआईएन कनेक्टिभिटीका’ शीर्षकमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिनेछ । उक्त सत्रमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग तथा बोर्डका उच्च अधिकारीहरू, एसियन डेभलपमेन्ट बैंक–नेपाल मिसनका प्रतिनिधि, विमान सेवा प्रदायक, सिपिङ कम्पनी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ । सो सत्रमा नेपालमा लजिस्टिक पूर्वाधारको वर्तमान अवस्था, बीबीआईएन (बंगलादेश, भुटान, भारत, नेपाल) सन्दर्भमा कनेक्टिभिटीका सम्भावना, नीतिगत समन्वय, ढुवानी मार्ग विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहज बनाउन आवश्यक पहलहरूबारे गहिरो छलफल गरिनेछ ।
तेस्रो सत्रअन्तर्गत ‘फेलोसिप एन्ड ट्रेड मिट’ कार्यक्रम सञ्चालन गरिनेछ, जसमा सरकारी, निजी तथा अन्तर्राष्ट्रिय लजिस्टिक प्रतिनिधिहरूबीच कार्यपत्र प्रस्तुति, भिडियो डकुमेन्ट्री प्रदर्शनी तथा नेटवर्किङ अवसरहरू प्रदान गरिने आयोजकले जनाएको छ । कार्गो दिवसले लजिस्टिक क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न, नीति निर्माण प्रक्रियामा सरोकारवालाको आवाज समेट्न र आपूर्ति शृङ्खला व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।
नेपालजस्तो भू–परिवेष्ठित मुलुकमा ढुवानी सहज बनाउन र अन्तर्राष्ट्रिय बजारसँग नेपाली उद्योगी व्यवसायीलाई प्रतिस्पर्धात्मकरूपमा जोड्न लजिस्टिक्स पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै आयोजकले यस क्षेत्रमा सरकारले ठोस नीति र लगानीका माध्यमबाट सहयोग पुर्याउनुपर्ने आवश्यकता औँल्याएको छ । कार्यक्रममा वाणिज्य, उद्योग, पर्यटन, बैंकिङ, बीमा, प्रविधि, उत्पादन र ढुवानी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहनेछ । कार्गो दिवस नेपाल इन्टरमोडल यातायात विकास समिति तथा विभिन्न वायुसेवा प्रदायक कम्पनीहरू, बन्दरगाह व्यवस्थापन निकाय, बैंक तथा अन्य व्यावसायिक संस्थाहरूको सहकार्यमा मनाउन लागिएको हो ।