काठमाडौं, साउन २९
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत रहेको सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सहरी क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाका चारवटा उपभोक्ता संस्थाहरुलाई गाडी हस्तान्तरण गरेको छ । सहरी खानेपानी तथा सरसफाइ आयोजनाका चार उपभोक्ता संस्थालाई बुधबार खानेपानीमन्त्री बिना मगरले सवारीसाधन हस्तान्तरण गरेकी हुन् ।
मन्त्री मगरले दोलखास्थित चरीकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, कञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थित सिद्धनाथ बैजनाथ, सुर्खेतको शुभघाट र खोटाङको दिक्तेलमा अवस्थित रम्बा खोला माझखोला साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई गाडीको चाबी हस्तान्तरण गरिन् । सहरी खानेपानी आयोजनाअन्तर्गत विभिन्न जिल्लाका दशवटा सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई सवारीसाधन हस्तान्तरण गर्ने कार्यक्रम रहेकोमा बुधबार चारवटा संस्थालाई हस्तान्तरण गरिएको हो ।
सवारीसाधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको सानाभन्दा साना समस्यालाई सम्बोधन गर्दै आयोजना सम्पन्न गर्नमा उपभोक्ता संस्थाहरुको भूमिका ज्यादै महत्वपूर्ण हुने बताइन् । उनले देशैभरि रहेका खानेपानी आयोजनाहरुलाई सम्पन्न गरी जनताका आधारभूत आवश्यकता पूरा गर्न उपभोक्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुने र यसका लागि मन्त्रालयले सहयोग र सहजीकरण गरिरहने बताइन् ।
‘उपभोक्ता संस्थाहरु जनताका समस्याहरु बुझ्ने अभिन्न अंग हुन्’, उनले भनिन्, ‘उपभोक्ता संस्थाहरुले बेतलबी रुपमा काम गरिरहेका छन् । हामी त्यस्ता उपभोक्ता संस्थाहरुलाई सहजीकरण र सहयोग गरिरहनेछौँ ।’