नेपालगञ्ज । बाँकेमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपालगञ्जदेखि दिल्ली उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् ।
नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउन लागिएको हो । सो उडानका लागि यहाँका उद्योगी, व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेन्डा बनाउन आग्रह गरिएको छ । नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले एजेन्डालाई प्राथमिकताका साथ उठाउने र त्यसको टुङ्गो नलाग्दासम्म नछाड्न आग्रह गर्दै यसको फाइदा र बेफाइदाका बारेमा स्पष्ट हुन जरुरी भएको बताए । ‘अब यसलाई उठाएर बीचमा छाड्ने होइन, यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहनुपर्छ’, उनले भने ।
नेपाली काँग्रेस बाँकेका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिएर अघि बढ्न अनुरोध गर्दै यस्ता विषयले नेपालगञ्जको परिचय स्थापित हुने बतए । प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको मित्र राष्ट्र भारतको भ्रमणमा यो विषयलाई प्रमुखताका साथ उठाउन पहल गर्ने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताए । रानाभाटका अनुसार नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले सङ्घका अध्यक्ष टंकबहादुर धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो ।