काठमाडौँ । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई बिहीबार ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषिलगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकामा जोड दिए । सांसदहरू देश बनाउनका लागि क्रियाशील रहनुपर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाले कुर्सीका लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्नेमा जोड दिइन् । कुनै पनि पद वा बर्दी नक्कली हुन नसक्ने उल्लेख गदै क्याप्टेन विजय लामाले पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले दुःख पाएको धारणा व्यक्त गरे । नवनिर्वाचित युवा सांसदहरूलाई सो कार्यक्रममा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्धिसागर मरासिनी र सञ्चारकर्मी राजन कुइँकेलले प्रमाणपत्र तथा ब्याच वितरण गरेका थिए ।