इजरायल र इरानबीच गत जुन १३ देखि चर्किंदै गएको युद्धको असरपछि नेपाल सरकारले युद्धग्रस्त क्षेत्रबाट नेपाली नागरिकहरूको सुरक्षित उद्दार कार्यलाई तीव्रता दिएको छ। त्यसैक्रममा हालै थप ५ जना नेपाली नागरिकलाई उद्दार गरी स्वदेश फर्काइएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा युद्धको चपेटामा परेका नेपालीलाई सुरक्षित स्थानमा सार्ने र स्वदेश फर्काउने कार्यलाई प्राथमिकता दिएको जानकारी गराएको हो। मन्त्रालयले यसअघि जारी गरेको यात्रा सम्बन्धी सूचनालाई पनि पुनः स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। भारत सरकारले सञ्चालन गरेको 'अप्रेशन सिन्धु' अन्तर्गत भारतीय नागरिकको उद्दार कार्यसँगै समन्वय गरी ९ जना नेपाली नागरिकको उद्दार गरिएको थियो। तीमध्ये ५ जना अझै इजरायलमै सुरक्षित स्थानमा रहेका छन् भने हालै थप ५ जनालाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहकार्यमा जुलाई २४ मा काठमाडौं ल्याइएको हो। यस प्रक्रियामा नेपाल सरकार, इजरायलस्थित नेपाली राजदूतावास, दोहास्थित नेपाली दूतावास, IOM, तथा सम्बन्धित निकायहरूको सहकार्य उल्लेखनीय रहेको छ। परराष्ट्र मन्त्रालयले सबै समन्वयकारी निकायप्रति आभार व्यक्त गर्दै युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ।