काठमाडौ । परराष्ट्र मन्त्रालयलको पहलमा इरानको जेलमा रहेका पाँच नेपाली नागरिक थुनामुक्त भई स्वदेश फिर्ता भएका छन् । उनीहरूलाई इरानको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा बिहीबार काठमाडौं ल्याइएको हो ।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरू, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्य दूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनप्रति धन्यवाद ज्ञापन गरेको छ । इजरायल र इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात् शान्ति सुरक्षाको स्थिति क्रमशः सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख छ । उक्त अवधिभित्र दुवै मुलुकमा रहेका नेपालीहरूको हकहित र सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले यात्रासम्बन्धी सुझाव र सूचना जारी गरेको थियो । साथै, आवश्यक परेको बखत आपत्कालीन उद्धारका लागि विवरण संकलन गरिएको थियो ।
द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतीय नागरिकहरूलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन चरणमा नौ जना नेपाली नागरिक यसअघि नै इरानबाट उद्धार गरी भारत हुँदै नेपाल फिर्ता भइसकेका छन् ।