कञ्चनपुर । दुग्ध विकास संस्थान (डीडीसी)ले कञ्चनपुरका किसानको गत मङ्सिरदेखि संकलन भएको दूधको भुक्तानी गर्न सकेको छैन । यहाँका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको छ करोड भुक्तानी गर्न बाँकी छ ।
संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरू मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले बताए । ‘हामीले डीडीसीबाट मङ्सिरयताको ६० लाख रुपैयाँ रकम पाउनुपर्ने बाँकी छ’, उनले भने, ‘डीडीसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनौं ।’ उनका अनुसार साथी सहकारीले महिनाको पाँच हजार लिटर दूध दुग्ध विकास संस्थानलाई दिँदै आएको छ । संस्थानले दूधको पैसा भुक्तानी नगर्दा दूध उत्पादक किसानलाई दूधको पैसा दिन आफूहरूलाई समस्या भएको उनले बताए । ‘हाम्रो सहकारीले दैनिक एक हजार पाँच सयसम्म किसानबाट दूध संकलन गर्छ’, पनेरुले भने, ‘महिनामा स्थानीय बजारमा तीन हजार लिटरसम्म खपत हुन्छ, बाँकी दुग्ध विकास संस्थानलाई दिन्छौँ ।’
त्यसैगरी, यहाँको साना किसान सहकारीले पनि संस्थानबाट दूधको भुक्तानी पाएको छैन । सहकारीका अध्यक्ष खगेश्वर पाण्डेलले संस्थानबाट मङ्सिरयता २९ लाख ५० हजार भुक्तानी पाउनुपर्ने रकम बाँकी रहेको बताए । ‘हामीले प्रत्येक महिना किसानलाई दूधको पैसा तिर्नुपर्छ संस्थानले समयमा हामीलाई भुक्तानी गर्दैन,’ उनले भने, ‘समयमा भुक्तानी नहुँदा हामी समस्यामा परेका छौँ सहकारीमा बचत गरेको पैसाबाट दूध किसानको पैसा भुक्तानी गर्नुपर्ने बाध्यता छ ।’