दोलखा । गौरीशंकर गाउँपालिका–९ रिकु गाउँका स्थानीयले लाखौँको लगानीमा खोलेका होमस्टेहरु बन्द हुने अवस्थामा पुगेका छन् । च्छोरोल्पा हिमताल, रोल्वालिङ उपत्यका क्षेत्रको बढ्दो पर्यटक आगमन र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तथा अन्य हाइड्रोपावरलाई लक्षित गरेर विकट दुर्गम गाउँ रिकुमा खोलिएका आधा दर्जन बढी होमस्टे अहिले बन्द अवस्थामा छन् । स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर दुई वर्षअघि यहाँका स्थानीयले होमस्टे बनाएका थिए । कतिपय होमस्टे भने अहिले पनि निर्माणको चरणमा रहेका छन् ।
हालसम्म सडक सञ्जालले छुन नसकेको रिकु गाउँमा पुग्न माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ड्याम्म साइट गोगंरदेखि भीर फोरेर निर्माण हुँदै गरेको करिब साढे दुई किलोमिटर पैदलमार्ग हिँडेर पुग्न सकिन्छ । यस्तै, चर्चित झरना छ्योतछ्योतदेखि उकालो तथा च्छोरोल्पा पदमार्ग हुँदै पनि रिकु पुग्न सकिन्छ । कहिलेकाहीँ सो रुट हुँदै च्छोरोल्पा चड्ने फाट्टफुट्ट पर्यटक आए पनि हालसम्म रिकु नै बास बस्ने पैदल यात्री गाउँ नछिरेको स्थानीय बाबुराम खड्काले बताए । उनले होमस्टे निर्माणका लागि छ्योतछ्योतदेखि प्रतिकेजी २५ रुपैयाँ तिरेर होमस्टेको निर्माण सामग्री भरियामार्फत बोकाएर लगेका थिए । तर मेहनत गरेर होमस्टे निर्माण गरे पनि हालसम्म प्रचारप्रसार अभाव र गोगंंर रिकु पदमार्ग निर्माण सम्पन्न नभएको कारण होमस्टे खाली रहेको उनले बताए । रिकुमा अहिले सुविधायुक्त पाँच वटा होमस्टे छन् भने दुईवटा होमस्टे निर्माणको चरणमा रहेका छन् ।
होमस्टेका लागि आवश्यक पर्ने आधारभूत सामानहरु सबै बोकेर नै गाउँसम्म ल्याएको खड्का बताउँछन् । उनका अनुसार गाउँमा करोडौँ लगानी भएका आयोजना भित्रिएपछि स्थानीय युवा झन् होमस्टे स्थापना गर्न हौंँसिएका थिए । आयोजनाको कामले पनि गति लिँदै अघि बढिरहेको छ । पर्यटनका लागि निर्माण हुँदै गरेको पदमार्गको काम पनि करिब अन्तिम चरणमा पुग्यो तर माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको नजिक र च्छोरोल्पा ओहोरदोहोर हुने बाटोको गाउँ हुँदा पनि होमस्टेले राम्रोसँग पाहुनाको स्वागत गर्न नपाएको स्थानीय होम बहादुर खड्का बताउँछन् ।
विकट र दुर्गम गाउँमा पदमार्गमार्फत यात्रा गर्ने पर्यटकको लागि होमस्टे सञ्चालनमा आए पनि प्रचारप्रसार हुन नसक्दा अहिलेसम्म ओझेलमा परेको छ । तामाङ र क्षेत्री समुदायको बसोबास रहेको रिकुमा पाँच घरले पाहुना राख्न सक्नेगरी व्यवस्थापन गरेका छन् । होमस्टेमा आउने आगन्तुकहरुलाई सांस्कृतिक प्रस्तुति, स्थानीय लोकल परिकार तथा आसपासको रमणीय दृश्यावलोकन गर्न सहज छ । तर, गौरीशंकर गाउँपालिका वडा नम्बर–९ रिकुमा पनि होमस्टे छ है भनेर चाहिनेजति प्रचारप्रसार हुन नसक्दा स्थापना भएको दुई वर्ष बितिसक्दा समेत सोचेजस्तो गरी होमस्टे चल्न नसकेको खड्काले बताए । होमस्टेलाई नियमित पर्यटक तथा पैदल यात्री आउने वातावरण बनाउन यहाँको स्थानीय सरकारसँगै सञ्चारकर्मीहरुको सहयोग आवश्यक रहेकोे खड्का बताउँछन् ।