चितवन । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय रहेका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेटे, त्यसपछि उनको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । २०३१ सालमा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेटेका गुरुङले कोइरालाकै परामर्शमा चितवन झरेर सक्रिय राजनीतिमा लागेको जनाइएको छ ।
विसं २००६ सालमा कास्कीमा जन्मिएका गुरुङले एमएसीसम्मको अध्ययन गरेका थिए । प्राध्यापन समेत गरेका बौद्धिक व्यक्तित्व गुरुङले प्राध्यापन छोडेर चितवनको राजनीतिमा सक्रिय रुपमा लागे ।
केही समय अघिसम्म गण्डकी प्रदेशको प्रमुखको रुपमा रहेका गुरुङको यही साउन १० गते चितवनस्थित निवासमा निधन भएको छ । राससका अनुसार राजनीतिक र सामाजिक जीवनमा ठूलो योगदान पुर्याएका गुरुङको निधनसँगै प्रदेश सरकार र उनको पार्टी कांग्रेसले उच्च सम्मान व्यक्त गरेको छ ।
तीन दिनसम्म जिल्लास्थित पार्टीका कार्यालय बन्द गरेको कांग्रेस चितवनले बुधबार जिल्लाका सबै तहहरुमा शोक पुस्तिका राखेर सम्मान व्यक्त गरेको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार गुरुङ विद्यार्थीको परामर्शमा चितवन आएर प्राध्यापक छोडेर यहाँको सामाजिक परिवर्तन र राजनीतिक काममा सक्रिय भएका हुन् ।
नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको धेरै पटक सदस्य, आठौँ महाधिवेशनदेखि नै महासमिति सदस्य रहेका गुरुङ २०६१ सालदेखि ०६३ सालसम्म जिल्ला सभापति भए । २०४६ सालमा तत्कालीन जिल्ला सभापति कृष्णलाल सापकोटाको संयोजकत्वमा केन्द्रले गठन गरेको पाँच सदस्यीय जनआन्दोलन समितिमा उनी सदस्य थिए ।
२०४८ सालमा चितवन क्षेत्र नं ३ बाट पार्टीको तर्फबाट उम्मेदवार भएर गुरुङ झिनो मतले पराजित भए पनि उनी जनताको काममा निरन्तर लागे । विद्यार्थी क्यान्सर मेमोरियल अस्पताल, माडीलाई भरतपुरसँग जोड्ने राप्तीमा पुल निर्माण, निकुञ्जभित्रको बस्ती पदमपुर स्थानान्तरण, पूर्वी चितवनको राप्ती तटबन्धनजस्ता जिल्लाका ठूला विकास आयोजनामा उनको महत्वपूर्ण भूमिका रहेको खनाल बताउछन् ।
२०४८ साल पछि गिरिजाप्रसाद कोइराला पटकपटक प्रधानमन्त्री हुँदा यी विकासका आयोजना सम्पन्न भएका हुन् । त्यसो त सो समयमा पश्चिम चितवनको विकासमा गुरुङको योगदान महत्वपूर्ण छ । पश्चिम चितवन मात्रै होइन भरतपुर क्षेत्रमा सञ्चालनमा आएका ठूला दुई मेडिकल कलेज स्थापना गर्न गुरुङले भूमिका निर्वाह गरेको खनालले बताए ।
पार्टीमा रहेर जनताको हितमा काम गरेका कारण पूर्व सभापति गुरुङलाई जिल्ला समितिले उच्च सम्मान दिएर १३ दिनसम्म नै शोकका कार्यक्रम मात्रै गरिरहेको खनालले बताए ।