ब्रसेल्स । युरोपेली संघ (ईयू) ले गैर–ईयू देशका नागरिकहरूको सीमाना जाँचका लागि ‘नयाँ प्रवेश र निस्कने प्रणाली’ (इन्ट्री÷एक्जिट प्रणाली) यही अक्टोबर १२ गतेदेखि लागू गर्ने घोषणा गरेको छ । यो प्रणाली लागू भएपछि यात्रुहरूका पासपोर्टमा छाप (स्ट्याम्प) लगाइने पुरानो तरिका हटाइनेछ ।
यस नयाँ विधिबाट युरोप आउन र फर्कन चाहने व्यक्तिको विवरण—आउँदाको मिति, फर्किने मिति, सीमा नाघ्ने प्रयास वा तोकिएको समयभन्दा बढी बस्ने अवस्था — सबै कम्प्युटर प्रणालीमा सुरक्षित गरिनेछ ।
सीमा पार गर्दा यात्रुको अनुहारको फोटो र औँलाको छाप पनि लिइनेछ । यसले यात्रुको वास्तविकता पुष्टि गर्न सहयोग गर्नेछ ।
युरोपेली आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने, “यस प्रणालीले हाम्रो सुरक्षा बलियो बनाउनेछ । यसले अवैध रूपमा लुकिछिपी बस्नेहरू पहिचान गर्न, नक्कली कागजात प्रयोग रोक्न र सीमामा हुने अनियमित गतिविधि घटाउन मद्दत पुर्याउनेछ ।”
यो प्रणाली सन् २०१७ मै तयारी गरिएको भए पनि केही देशहरू समयमै तयार नभएकाले कार्यान्वयन ढिला भएको थियो । अहिले भने सबै देश तयार भएकाले यसलाई चरणबद्ध रूपमा लागू गरिने भएको हो ।
युरोपका २७ सदस्य देशहरूमा यो नयाँ व्यवस्था लागु हुनेछ । तर आयरल्याण्ड र साइप्रसमा भने हाललाई प्रयोग गरिने छैन । यस्तै, युरोपेली संघमा नपरेका तर शेंगेन क्षेत्रका सदस्य नर्वे, स्वीट्जरल्याण्ड, आइसल्याण्ड र लिचटेन्स्टाइनले पनि यस प्रणालीलाई प्रयोग गर्नेछन् । रासस/एएफपी