काठमाडौं । मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष अशोक केसी तथा सदस्य रामहरि सिलवाल पक्राउ परेका छन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको उक्त सहकारीमा छ करोड रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरु पक्राउ परेका हु्न् । केसीलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
यो सहकारीले बचतकर्ताको पाँच करोड ९० लाख ८४ हजार एक सय ६५ रुपैयाँ अपचलन गरेको प्रहरीको आरोप छ । यसमा अध्यक्ष केसीसहित अन्य कर्मचारी एवम् ऋणीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ । अपचलनमा संलग्नविरुद्ध २०८१ बैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ पुर्जी जारी भएसँगै केसी फरार थिए । सोही घोटाला प्रकरणमा जोडिएका सदस्य सिलवाललाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । उनलाई पनि रुपन्देही पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।