निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले उनको कामको अति प्रशंसा गर्दै कम्युनिस्ट पार्टीको हीरक जयन्ती मनाउँदा ‘गणतन्त्र गौरव’ भन्ने मानपदवी दिएको थियो । यिनै पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको यही नेतृत्वले वर्ष दिन नबित्दै ‘गणतन्त्र गौरव’को ‘ग्रहण’को संज्ञा दिन खोजेको छ ।
भण्डारीलाई पहिले ‘गणतन्त्र गौरव’ भन्ने मानपदवी दिँदाको कार्यक्रम जति औपचारिक थियो, अहिले त्यो गौरवमाथि ग्रहण लागेको भनेर बुझाउन पनि औपचारिकरुपले नै खोजिएको छ । भण्डारीको कामले गणतन्त्र गौरवमा ग्रहण लागेको भनी बुझाउन कुनै सामान्य सन्दर्भमा कसैले बोलेर नभई केन्द्रीय समितिको निर्णय भन्दै आफ्ना कार्यकर्ताहरुमा पठाइएको अन्तरपार्टी निर्देशनमा यस्तो अर्थलाग्ने व्यहोरा उल्लेख गरिएको छ ।
यद्यपि, यो ‘गणतन्त्र गौरव’मा यस्तो ‘ग्रहण’ लागेको भनेर शब्दैमा त लेखिएको छैन तर अर्थचाहिँ त्यही हुनुपर्छ जो बुझाउन खोजिएको छ ।
यता यी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पदमा बहाल रहेको समय करिब साढे सात वर्ष (२०७२ असोज २९–२०७९ फागुन २९) सम्म उनले गरेका कामबाट उनी महिला राष्ट्रपति हुनु, उनलाई राष्ट्रपति बनाउने दल र त्यसको नेतृत्वप्रति कामैले विशेष आभार प्रकट गर्नु र त्यही नेतृत्वबाट दुई कार्यकाल राष्ट्रपति बन्नु/बनाइनुबाहेक गणतन्त्रका लागि कुनै उल्लेख्य योगदान दिइएको भनेर उनी पदमुक्त भएपछि सम्झनामा राख्नुपर्ने एउटा पनि काम नहोला । बरु विवादित काम भने धैरे भएको हुनुपर्छ ।
यस्तो बेला गणतान्त्रिक संविधान जारी भएपछिको दश वर्षको समयमा चारपटक सरकारको नेतृत्व गरेका नेता र तिनको दल एमालेले के आधारले भण्डारीलाई गणतन्त्र गौरवको मानपदवी दियो भन्ने प्रश्न त्यसबेला नै उठेको थियो । अहिले त त्यो दल आफैँले पनि त्यस्तो गरिमा धारण गर्नै नसक्ने व्यक्तिलाई जथाभावी यस्तो मानपदवी दिइरहँदा के हुँदोरहेछ भन्ने कुराको महसुस गरेको हुनुपर्छ । गएको हप्ता यो दलले पठाएको अन्तरपार्टी निर्देशनले त्यस्तै बुझाएको हुनुपर्छ ।
पूर्वराष्ट्रपति भण्डारी विगत केही समयदेखि आफैँ र उनी हाल प्रवेश गर्न खोजेको दल नेकपा एमालेले जे भनिरहेको र जे गरिहेको छ, त्यसले ‘गणतन्त्र गौरव’मा दाग लागेको देखाएको छ । उनी फेरि दलीय राजनीतिमा प्रवेश गरेको घटनालाई उक्त दलभित्रको एउटा सानो गुटबाहेक कसैले आत्मसात गर्न सकेको देखिएन ।
नेकपा एमालेले हालै सम्पन्न आफ्नो केन्द्रीय समितिको बैठकबाट पारित भएको भनेर पठाएको अन्तरपार्टी निर्देशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ भनेर सम्मान गरेको स्मरण गराउँदै अब भने उनका बारेमा थप छलफल र बहस नगर्न भनेर मातहतका कमिटीलाई निर्देशन नै पठायो ।
यसको सबैले बुझ्ने अर्थ हो, भण्डारीको दल प्रवेश वा दलले त्यसमाथि लगाएको रोक कुनै छलफलको विषय नै होइन । ‘गणतन्त्र गौरव’को पदवीबाट विभूषित व्यक्तिको कुनै काममा यसरुपको प्रतिबन्ध लाग्नु भनेको सामान्य कुरा होइन । त्यस्तो मानपदवी दिने दल नै सम्बन्धित यो पद धारण गर्न योग्य पात्र होइनन् भनेर निष्कर्ष निकालिन्छ भने यो पनि सामान्य कुरा होइन । कम्युनिस्ट पार्टीको अन्तरपार्टी निर्देशनजस्तो औपचारिक दस्तावेज अर्को नहोला ।
गएको ६–७ साउनमा सम्पन्न एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय संलग्न गरिएको अपानि–१२ मा पूर्वराष्ट्रपति भण्डारीले यस्तो गौरवपूर्ण संस्थालाई धुलिसात गर्न खोजेको भन्ने आरोप लगाउँदै अब उनका बारेमा थप छलफल नगर्न भनेको हो ।
यो अपानिमा एमालेले ‘गत वर्ष नेपाल कम्युनिस्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’को रुपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ’ भनेर उल्लेख गरेको छ । तर उनले त्यो गणतन्त्र गौरवलाई अहिले आफ्नै क्रियाकलापले धुलिसात गरेको भनेर अर्थ बुझाउन खोजिएको छ । अपानिमा पटक–पटक दोहोर्याइएका केही भनाइ यस्ता छन्–
‘पछिल्लो समयमा सम्माननीय पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउने गरी सुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौँ बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको छ । अब उक्त विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्वराष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम कसैले पनि गर्नुहुँदैन ।’
‘गरिमामय भूमिका (दुई कार्यकालसम्म)मा रहेको राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि पनि आफ्नो दलीय जिम्मेवारीमा फर्किने विषय नेपालको संविधानले कतै पनि परिकल्पना गरेको देखिँदैन ।’
‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेपाली राजनीतिमा एकजना सम्मानित नाम हो । हिजो आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमा र उपाध्यक्षको ओहोदामा रहँदा होस् या सम्मानित राष्ट्रपतिको जिम्मेवारीमा रहँदा, उहाँले अत्यन्त गरिमामय ढंगले ती ओहदाहरुलाई उचित, न्याय र उत्कृष्ट कार्य सम्पादन गर्नुभएको छ । नेपालमा लैङ्गिक समानता र समावेशिताको आइकनका रुपमा रहनुभएको उहाँलाई उहाँका यिनै योगदानका कारण गत वर्ष नेपाल कम्युनिस्ट पार्टीको हीरक वर्ष समारोहमा ‘गणतन्त्र गौरव’को रुपमा सम्मान गरेको सन्दर्भ यहाँनिर स्मरणीय छ ।’
‘सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकै गौरवका रुपमा सम्मानित भएर बस्नुपर्दछ । सक्रिय राजनीतिमा आउनु हुन्न । सिङ्गै राष्ट्रको नेता भएको व्यक्तिलाई नेकपा (एमाले) ले कार्यकर्ता बनाउनुहुँदैन, अध्यक्ष भए पनि कार्यकर्ता हो । यहाँ आउनुहुँदैन । पूर्वराष्ट्रपति सम्मानपूर्वक राष्ट्रको गणतन्त्र गौरव भएर बस्नुहोस् । उहाँ राष्ट्रको गहना हो । हाम्रो पनि गहना हो । उहाँँको सदस्यता नवीकरणको प्रक्रिया मिलेन, सदर हुँदैन ।’
पूर्वराष्ट्रपति भण्डारीले एमालेको केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय गरेकोे केही अघि मात्र एउटा टेलिभिजन कार्यक्रममा आफू एमालेको अध्यक्ष बन्ने, त्यसपछि संसदीय दलको नेता भएर उक्त दलको तर्फबाट प्रधानमन्त्रीको भूमिकामा जाने भनेर घोषणा गरेकी थिइन् ।
यी कुरा उनकै शब्दले त बोलेका थिएनन् तर उनले यस्तो भूमिका खोजेको वा रोजेको हो भन्ने प्रश्नको उत्तरदिँदा यस्तै कुरा आएका थिए । ओली नेतृत्वको एमालेले भण्डारीबाट गणतन्त्रको गौरव धान्न नसकेको भनेर बोल्नैपर्ने अवस्था उनको यो राष्ट्रपतिभन्दा दलीय पदको रोजाइ पनि एउटा कारण हुनुपर्छ ।
जब एमालेले उनलाई पार्टीको सदस्यता नै नदिने भनेर निर्णय गरिदियो र त्यस्तो अपानि नै पठायो, त्यसपछि त उनले राष्ट्रपतिको पदमा हुँदा पनि एमालेको सदस्यता कायमै रहेको, आफूले सदस्यता नत्यागेको भन्ने बुझाउने गरी नै प्रतिक्रिया दिइन् ।
यो पनि भण्डारीले आम नागरिलाई होच्याएकै रुपमा लिइएको हुनुपर्छ । दुई–दुई कार्यकाल राष्ट्रपति भएकी उनले आफू त्यो पदमा नियुक्त हुँदा यो पदबाट निवृत्ति पाएपछि फेरि सक्रिय राजनीतिमा आउने भनेर कतै पनि जानकारी गराएकी थिइनन् । बरु त्यसबेला उनले पार्टी सदस्यताबाट राजीनामा दिएको भन्नेचाहिँ सबैको साझा बुझाइ थियो ।
एमालेको केन्द्रीय समितिले उनको सदस्यता रद्द गरेपछि उनी पहिलोपटक सूर्य चिह्न, नारामा जबज र मदन भण्डारीको तस्वीर राखिएको ब्यानरमुनि बसेर वक्तव्य दिँदा आफ्नो परिचय एमालेको ‘पूर्वउपाध्यक्ष’ भनेर गराइन् ।
झण्डै आठ वर्ष राष्ट्रपति भएको व्यक्तित्वले आफूलाई पूर्वराष्ट्रपति भन्न समेत नमानेको यो अवस्थाले पनि उनी गणतन्त्रमा ग्रहणकै रुपमा चिनिन खोजेको बुझाउँछ । उनको पूर्वराष्ट्रपति भन्ने परिचय मेटाइएको त्यो समारोहमा उनको भनाइका केही अंश –
‘... आफ्नो निर्णयबाट म विचलित हुने छैन । त्यसैले म सम्पूर्ण पङ्क्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरुलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुन समेत हार्दिक आह्वान गर्दछु ।’
‘२०३७ सालमा लिएको हो सदस्यता, त्यतिखेर जननेता मदन भण्डारी कोशी–सगरमाथाको इन्चार्ज हुनुहुन्थ्यो, उहाँले शपथ खुवाउनुभयो मलाई । अब यहाँ कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छजस्तो लाग्दैन ।’
‘केही मुठ्ठीभर मित्रहरुले, हुलहुज्जतको भरमा, उत्तेजनामा आएर यस्तो गर्न मिल्दैन । पार्टीको पनि आफ्नै प्रक्रिया हुन्छ, हाम्रो पार्टी एउटा प्रणालीमा चल्छ । कसलाई कतिखेर के मन लाग्यो, त्यो गर्नु राम्रो विषय होइन ।’
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरुप्रति प्रतिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न कदापि मिल्दैन । यो पार्टी बनाउन मलगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना, मेहनत लागेको छ । यो कुरा म यहाँ कुनै भावनामा बगेर गरिरहेको छैन ।’
‘त्यतिखेर पार्टीले नै निर्णय गरेर पठाएको हो । यत्तिकै छोडेर, पार्टी परित्याग गरेर अरु हिसाबले गएको होइन । पार्टीले दिएको जिम्मेवारी भएरै गएको हो । आइसकेपछि पनि प्रक्रियाअनुसार नै नवीकरण गरेको हो र अहिले पनि एमाले परिवारमा आबद्ध छु ।’
‘जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सबै एमाले पङ्क्तिमा आग्रह गर्दछु । मेरो यो आग्रह र संकल्प अन्तरआत्माको आवाज हो ।’
उनको यो मन्तव्यमा गणतन्त्रको उपलब्धिका बारेमा कतै एक शब्द उल्लेख भएको छैन, न त यस्तो व्यवस्थाका लागि जीवन आहुति गरेका सहिदहरुप्रति एकशब्दको श्रद्धाञ्जलि नै ।