काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । बिहीबार सडकको निरीक्षण गर्दै उनले निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिएका हुन् ।
कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले आर्थिक विकास र समृद्धिका लागि सडक सहयोगी समेत बन्न सक्ने उनले बताए । विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने उनको भनाइ थियो । यस्तै, सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौंवासीका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेश र लुम्बिनीसँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताए । यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विनाअवरोध र ढिलाइ जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा उनले जोड दिए ।
सडक विभागका महानिर्देशक डा विजय जैसीले भने कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताए । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागेर काम अघि बढि सकेको छ । अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा, बुद्धिजीवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलियालगायत सहभागी थिए । सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि दुई प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक साढे आठ किमि काठमाडौं र बाँकी मकवानपुरमा पर्छ ।