काठमाडौ । टिकटकले सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र १८ लाखभन्दा बढी भिडियोहरु हटाएको छ । कम्पनीले कम्युनिटी गाइडलाइन्सविपरीत एपमा अपलोड गरिएको १८ लाख ७६ हजार पाँच सय ६३ वटा भिडियोहरू हटाएको जानकारी दिएको छ ।
नेपालमा सक्रियरूपमा हटाइएका भिडियोको दर ९९ प्रतिशत रहेको छ । यसमा ९७ प्रतिशत भिडियोहरू भने २४ घण्टाभित्रै हटाइएका थिए । टिकटकले आफ्ना प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन सन् २०२५ को पहिलो त्रैमासिकको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको हो । प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्म आफ्नो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने कन्टेन्टहरू पत्ता लगाएर त्यसलाई हटाउन आफूले उठाएका सक्रिय कदमहरूको विवरण राखेको छ । यसले प्रयोगकर्ताहरूलाई सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने टिकटकको अपेक्षा छ ।
यस्तै, विश्वव्यापीरूपमा टिकटकले यो त्रैमासिकमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएको कुल कन्टेन्टको करिब शून्य दशमलब नौ प्रतिशत मात्रै हो । हटाइएका भिडियोमध्ये १८ करोड ४३ लाख ७८ हजार नौ सय ८७ वटा भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए । साथै, ७५ लाख २५ हजार एक सय ८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित पनि गरिएको कम्पनीको भनाइ छ । सक्रियरूपमा हटाइएका भिडियोहरूको दर ९९ प्रतिशत रहेको छ । यसमा ९४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्टहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए ।
प्रतिवेदनअनुसार हटाइएका भिडियोहरूको ३० प्रतिशत कन्टेन्टमा टिकटकको कन्टेन्ट पोलिसीसँग मेल नखाने संवेदनशील वा वयष्क विषयवस्तु थिए । थप ११ प्रतिशत भिडियोहरूले प्लेटफर्मको सुरक्षा र नैतिक मापदण्ड उल्लङ्घन गरेका थिए भने १५ प्रतिशत भिडियोहरूले गोपनियता र सुरक्षा नियमहरू तोडेका थिए ।