वासिङ्टन । संसारका मुख्य आर्थिक उदीयमान राष्ट्रहरु संयुक्त राज्य अमेरिकाको निशानामा पर्न थालेका छन् । अमेरिकाको मित्र र आलोचक दुवै रहेका राष्ट्रहरुको समूह ब्रिक्स राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिको निशानामा पर्न थालेका हुन् ।
ब्रिक्समा अमेरिकाको नजिक मानिने भारतदेखि कटु आलोचकहरु दक्षिण अफ्रिका, चीन र ब्राजिल समेत रहेका छन् । अघिल्लो दिन मात्रै ट्रम्पले अमेरिकाविरोधी व्यापार अभ्यास र रुससँग सैन्य उपकरण र कच्चा तेल किनेको आरोपमा २५ प्रतिशतसम्म आयात शुल्कवृद्धि गर्ने बताएका थिए । त्यसको भोलिपल्टै अमेरिकाले ब्राजिलमाथि ५० प्रतिशत शुल्क लगाउने बताएको हो ।
ब्राजिलका दक्षिणपन्थी पूर्वराष्ट्रपति जायर बोल्सोनारोविरुद्ध वर्तमान ब्राजिलेली प्रशासनले एकपछि अर्को कदम चालेकोमा ट्रम्प असन्तुष्ट थिए । बुधबार उनले ब्राजिललाई ५० प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । बोल्सोनारोलाई नियन्त्रणमा राखेको र अभिव्यक्ति स्वतन्त्रताको सम्मान नगरेको अमेरिकी आरोप छ । उनीविरुद्ध सन् २०२२ मा चुनाव हारेपछि सत्ताद्रोहको षड्यन्त्र गरेको वर्तमान प्रशासनको आरोपछ ।
पछिल्लो समय अमेरिकाले सबै देशहरुसँग नयाँ व्यापार सम्झौता गर्न खोजिरहेको छ । आधा दर्जन देशहरुसँग सम्झौता समेत भइसकेको छ । ट्रम्पले अगस्ट १ भित्र वार्ता गरी व्यापार सम्झौता गर्ने समय दिएका छन् ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकासँग व्यापार वार्ताकै चरणमा रहेका बेला प्रतिबन्ध लगाइएको भन्दै असन्तुष्टि जनाएको बीबीसीले उल्लेख गरेको छ । उनले अमेरिकी हस्तक्षेपको निर्णय अमान्य रहेको समेत बताएका छन् । ट्रम्पले यही महिनाको सुरुतिर लुलालाई पत्र लेख्दै उच्च शुल्क लगाउने चेतावनी दिएका थिए ।
यसबाहेक बिक्सकै अर्को सदस्य चीनसँग पनि अमेरिकाको व्यापार सम्झौता भएको छैन । यद्यपि यसको लागि व्यापक वार्ता भने भइरहेको छ । यसअघि अमेरिका र चीनबीच शुल्कवृद्धिको प्रतिस्पर्धा नै चलेको थियो ।