काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा प्रवाह गर्ने कर्जाको आकार ४१ अर्ब ५४ करोड रुपैयाँले बढेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीले सेयर धितोमा एक खर्ब २८ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो आवको ११ महिनामा उनीहरुले कुल ८७ अर्ब ११ करोड ३० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुमा मनग्य लगानीयोग्य रकम हुँदा त्यसको प्रभाव मार्जिन लेन्डिङमा परेको देखिएको छ । सो अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप ७० खर्ब चार अर्ब ५३ करोड ७० लाख र कुल कर्जा रकम ५५ खर्ब ५४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ थियो । तुलनात्मकरुपमा अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थामा ६२ खर्ब ६० अर्ब ७४ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन हुँदा प्रवाहित कर्जा ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ थियो ।
वाणिज्य बैंकहरुबाटै गयो एक खर्ब छ अर्ब
गत आवको ११ महिनामा वाणिज्य बैंकहरुले सेयर धितोमा मात्र कुल एक खर्ब छ अर्ब १८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो कर्जा आव २०८०/८१ को सोही अवधिको तुलनामा ३७ अर्ब ५६ करोड २० लाख रुपैयाँले बढी हो । यस आवमा सेयर धितोमा वाणिज्य बैंकहरुले कुल ६८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरुले गत वर्ष ११ महिनामा ६२ खर्ब ६३ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ५५ खर्ब ४० अर्ब ४८ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन तथा ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकको १८ अर्ब ४० करोड
यता, विकास बैंकहरुले पनि गत आवको जेठ मसान्तसम्म सेयर धितोमा मात्र कुल १८ अर्ब ४० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । जुन अघिल्लो आवको ११ महिनाको तुलनामा तीन अर्ब ७४ करोड २० लाख रुपैयाँले बढी हो । यस वर्ष सेयर धितोमा १४ अर्ब ६६ करोड ६० लाख रुपैयाँ कर्जा गएको थियो ।
गत आवको सो अवधिमा कुल छ खर्ब १३ अर्ब ५४ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेका विकास बैंकहरुले यो अवधिमा पाँच खर्ब २० अर्ब २५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुले पाँच खर्ब ९४ अर्ब ४४ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्सहरुले दिए चार अर्ब छ करोड
त्यसैगरी, फाइनान्स कम्पनीहरुले गत आवको जेठ मसान्तसम्म सेयर धितोमा मात्र कुल चार अर्ब छ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । यो कर्जा आव २०८०/८१ को सोही अवधिको तुलनामा २४ करोड ४० लाख रुपैयाँले बढी हो । यस वर्ष फाइनान्सहरुको सेयर धितोमा मात्र कुल तीन अर्ब ८२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
गत आवको सो अवधिमा फाइनान्स कम्पनीहरुले कुल एक खर्ब २७ अर्ब १६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ९२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल एक खर्ब २५ अर्ब ५८ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ९८ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।