काठमाडौं । पाकिस्तानको हबिब बैंकले नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले गर्ने भनिएको सेयर खरिदसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपालको हिमालयन बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर खरिद गर्न नेसनल लाइफ इन्स्योरेन्सले गरेको प्रस्ताव स्वीकारेको हो ।
हिमालयन बैंकमा १२ दशमलव ९३ प्रतिशत अर्थात् दुई करोड ८० लाख १२ हजार चार सय ४८ कित्ता सेयर हबिब बैंकको रहेको छ । सोही सेयर बिक्री गरेर बाहिरिने प्रक्रियामा रहेको हबिबले नेसनल लाइफले प्रतिकित्ता एक सय १८ रुपैयाँ ८० पैसामा सबै सेयर खरिद गर्न गरेको प्रस्ताव स्वीकृत गरेको हो ।
यसअघि कुख्यात बिचौलिया भनिएका दीपक भट्टले हिमालयन बैंकमा रहेको हबिब बैंकको उक्त सेयर प्रतिकित्ता एक सय ३० रुपैयाँ खरिद गर्न गरेको आफ्नै प्रस्तावलाई संशोधन गर्दै प्रतिकित्ता एक सय १२ रुपैयाँ ८० पैसामा सेयर खरिद गर्नको लागि प्रस्ताव गरेका थिए ।
तर अन्तिम समयमा आएर हिमालयन बैंकको संस्थापक सेयरधनी रहेको नेसनल लाइफले प्रतिकित्ता एक सय १८ रुपैयाँ ८० पैसामा हबिब बैंकको सबै सेयर खरिद गर्नै प्रस्ताव पेश गरेपछि बिचौलिया दीपक भट्टको हिमालयन बैंकलाई ठूलो सेयर लगानीकर्ता बनेर बैंक नै कव्जा गर्ने रणनीति फेल भएको छ ।