काठमाडौं । ७० लाख घुस प्रकरणमा अख्तियारले गरेको अनुसन्धानविरुद्ध कास्की मालपोत कार्यालयले वक्तव्य निकालेको छ ।
हाल मालपोत कार्यालय कास्कीको प्रमुख रहेका चिरञ्जीवी पौडेललाई सरुवा गरेर कास्की ल्याउँदा ७० लाख बुझाएको बताउने सोही कार्यालयका सुब्बा दिपक सुवेदीले बोलेको अडियो आर्थिक दैनिकले सार्वजनिक गरेपछि हाल अख्तियारले अनुसन्धान गरिरहेको छ । तर अनुसन्धान गर्ने निकायविरुद्ध नै कार्यालयले वक्तव्य निकालेको हो ।
यो प्रकरणमा पौडेललाई नियन्त्रणमा लिएर आयोगले अनुसन्धान गरिरहँदा कार्यालयका सूचना अधिकारी गोविन्द सुनारले वक्तव्य निकाल्दै यसबारे समाचार प्रकाशन गर्ने सञ्चार संस्थालाई चेतावनीको भाषा प्रयोग गरेका छन् । यससम्बन्धी समाचारलाई कपोलकल्पित भन्दै सुनारले समाचार प्रकाशन गर्नुपूर्व सत्यतथ्य बुझ्न ‘अह्राएका’ छन् ।
कार्यालयको गरिमा, साख, मर्यादा गिराउने मनसायले समाचार सम्प्रेषण एवं प्रकाशन भएको सुनारले वक्तव्यमा दाबी गरे पनि मालपोत प्रमुख पौडेल भने यही प्रकरणमा अख्तियार धाइरहेका छन् । उनले आफ्नो सम्पत्ति विवरण बुझाउन अख्तियार गएको दाबी गरेका छन् । तर, अनुसन्धानमा संलग्न अधिकारीहरुले भने पौडेलको प्रारम्भिक बयान भएको र बाँकी बयानका लागि फेरि बोलाउने तयारी भएको बताएका छन् ।
अख्तियारले बाटुलेचौरस्थित पोखरा १६ मा रहेको एक सय ३५ रोपनी जग्गाको कागजात समेत नियन्त्रणमा लिएर गएको छ । आफू नभएको समयमा अख्तियारले फाइल नियन्त्रणमा लिएर गएको पौडेलले बताएका छन् । गत असार ११ गते आर्थिक दैनिकले पहिलोपटक फैसला कार्यान्वयनका लागि सिंहदरबारका मन्त्री, पूर्वमन्त्री र सचिव संलग्न घुस प्रकरणको अडियोसहित खुलासा गरेको थियो ।
समाचार सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथि कारबाही भएको छ ।
भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसँग पनि अख्तियारले बयान लिएको छ । उजुरीकर्ता युद्धराज मोक्तानको बयान पनि सकिएको छ । यो घटनामा जोडिएका प्रमुख पात्र हाल मालपोत कार्यालय कास्कीका प्रमुख पौडेलमाथि पनि अख्तियारले बयान सुरु गरेको छ ।
लिचिबारीको जग्गापीडित दुर्गादेवी शाहका परिवारको नाममा पास गरिदिन तत्कालीन तीन तहको अदालतले गरेको फैसला कार्यान्वयनका लागि पौडेलले अवरोध गरी जग्गा नै माग गरेका थिए ।
उनले रुद्राक्षको कसम खाएर काम गरिदिने बचन दिएका थिए । पीडित परिवारकै टिकटमा उनी पोखरा आउजाउ गरेको समाचार पनि सार्वजनिक भइसकेको छ । समाचार सार्वजनिक भएपछि पौडेलले सूचना अधिकारी गोविन्द सुनारमार्फत सत्यको ढाकछोप गरेर पानीमाथिको ओभानो बन्ने कोसिस गरेका छन् ।