जानकी बाँके) । राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यस वर्ष आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् ।
दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन । जसले गर्दा वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए । आपत्कालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ ।
‘जनताको तटबन्ध कार्यक्रम’ लमही दाङले कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरेको हो ।
दिनरात काम गरेर छोटो समयमै काम सकिएको आयोजना प्रमुख डा. नारायण सुवेदीले बताए । दुई वर्षदेखि माग गर्दै आए पनि सुनुवाइ नभएको तर हाल जनताको तटबन्ध कार्यक्रमले दुई महिनामा अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको उनको भनाइ छ ।
राप्तीसोनारी–७ का स्थानीय दीपनारायण बर्माले यस वर्ष कटान रोकिने विश्वास व्यक्त गरे । राप्तीसोनारी वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले निकै राम्रो काम भएकाले राहत मिलेको बताए । खल्ला झगडिया गाउँमा खल्लाझगडियामा आपत्कालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिने स्थानीयहरुको विश्वास छ ।
जनताको तटबन्ध कार्यक्रमले खल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण सुरु गरिने जनाएको छ । खल्लाझगडियाको क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले रु छ करोड पाँच लाखमा ठेक्का लिएर काम सुरु गरेको छ ।