काठमाडौं,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा भइरहेको युद्धको भविष्यका विषयमा छलफल गर्न आउँदो शुक्रवार अलास्कामा भेट हुने भएको छ।ट्रम्पले १५ अगस्टमा हुने त्यस्तो भेटवार्ताको घोषणा सामाजिक सञ्जालमा एक सन्देश लेखेर गरेका थिए जसलाई पछि क्रेमलिनका एक जना प्रवक्ताले पुष्टि गर्दै अलास्का सापेक्षित रूपमा रुसबाट नजिक भएको भन्दै वार्तास्थल "एकदम युक्तिसङ्गत" भएको बताएका थिए।
ती प्रवक्ताका अनुसार सम्भावित दोस्रो शिखर बैठकका लागि ट्रम्पलाई रुसमा निम्त्याइएको छ।यस विषयमा युक्रेनको तर्फबाट तत्काल प्रतिक्रिया आइसकेको छैन।ट्रम्पले युद्ध अन्त्य गर्नका निम्ति युक्रेनलाई आफ्ना केही गुमेको भूभागमाथिको दाबी छाड्न पर्ने हुनसक्ने सङ्केत गरेको केही घण्टापछि यस्तो नयाँ घोषणा सार्वजनिक भएको हो।सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो छिमेकी राष्ट्रमाथि पूर्ण स्तरको अतिक्रमण आरम्भ गरेपछि यो युद्ध सुरु भएको थियो।शुक्रवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भनेका थिए,"त्यस्तो भूभागका बारेमा कुरा हुँदै छ जसका निम्ति साढे तीन वर्षसम्म लडाइँ चलेको थियो र धेरै रुसीहरूको ज्यान गएको छ। धेरै युक्रेनीहरूको पनि ज्यान गएको छ।"
जटिल विषय
"यो विषय धेरै जटिल छ। हामीहरूले केही फिर्ता लिनेछौँ केही सट्टापट्टा गर्नु पर्ने हुन सक्नेछ। दुवै पक्षको हितका लागि केही भूभाग अदलाबदली गर्नु पर्ने हुन्छ," ट्रम्पले भनेका छन्।अमेरिकी राष्ट्रपतिले वार्ताका लागि प्रस्तुत हुने प्रस्तावको स्वरूपका बारेमा थप विवरणहरू दिएनन्।यद्यपि बीबीसीको अमेरिकी साझेदार समाचार संस्था सीबीएस न्यूजले यो विषयमा भइरहेका कुराकानीका जानकार स्रोतहरूलाई उल्लेख गर्दै दिएको समाचारमा भनेको छ 'ह्वाइट हाउसले युरोपेली नेताहरूलाई कुनै यस्तो सम्झौतामा सहमत गराउने प्रयास गरिरहेको छ जस अन्तर्गत रुसले समग्र डोनबास क्षेत्रलाई आफ्नो अधीनमा लिने र क्राइमियालाई आफैसँग राख्ने कुराहरू पर्दछन्।'प्रस्तावका अनुसार हाल युक्रेनका केही भाग आफ्नो नियन्त्रणमा लिएको रुसले खेअरसन र जापोरिजा क्षेत्रहरू छाड्ने सीबीएसले जनाएको छ।
यसअघि शुक्रवार वाल स्ट्रिट जर्नल पत्रिकाले पुटिनले पनि त्यस्तै प्रकारको प्रस्ताव ट्रम्पका दूत स्टीभ वीट्कोफलाई हालै मस्कोमा उनीसँगको भेटमा गरेका जनाएको थियो।तर त्यस्तो प्रस्तावमा युक्रेन वा युरोपेली साझेदारहरू सहमत हुन्छन् की हुँदैनन् भन्ने स्पष्ट भएको छैन। किनकि शान्ति स्थापनाका लागि राखिने सर्तहरूका सम्बन्धमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र पुटिनबीच ठूलै दुरी देखिन्छ।जेलेन्स्कीले भूभागहरू परित्याग गर्ने पूर्वसर्तहरूलाई समग्रमा अस्वीकार गरिसकेका छन्। (बीबीसी)