काठमाडौं , नक्कली भुटानी शरणार्थी प्रकरणमा बाँकी रहेका साक्षीलाई झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले मंगलबार बाँकी साक्षीहरू उपस्थित गराई बयान लिन आदेश गरेको हो।अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार फौजदारी कार्यविधि संहिताको दफा ११२ बमोजिम बाँकी साक्षीहरूको नाममा म्याद जारी गरी आगामी भदौ ११ गते बकपत्र गराउन भनिएको छ। यस प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।रायमाझी, पाण्डेसहित केही प्रतिवादी थुनामा रहेका छन् भने खाणसहितका केही बाहिरैबाट मुद्दा लडिरहेका छन्। उनीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी अभियोग लागेको छ।