काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। उक्त मुद्दा काठमाडौं जिल्ला अदालत, न्यायाधीश खिमानन्द भुसालको इजलामा परेको छ।पक्राउ पर्ने क्रममा चक्रेसहित ४७ जनालाई नियन्त्रणमा लिइएको थियो भने २८ जना पछि छाडिएका थिए। प्रहरीले साउन ५ मा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले जन्मदिन पार्टीमा हल्ला गरेको भन्दै चक्रे मिलनले भने, उनीहरू केवल खाना खाने, केक काट्ने र नाँचगान गर्ने कार्यक्रममै संलग्न रहेको बताएका छन्।चक्रे मिलनले प्रहरीसमक्ष भने, “म नेकपा एमालेको गोरखास्तरीय सदस्य भएर पार्टीगत र सामाजिक सेवा कार्यमा सक्रिय छु। जन्मदिन समारोहमा भेला भएका साथी भाइहरूलाई सम्मान र माया दिनका लागि कार्यक्रम आयोजना गरेको थिएँ।” उनले थपे, “हामीले कुनै धारिलो हतियार प्रदर्शन, सार्वजनिक अवरोध, गाली गलौज वा डर धम्की दिने काम गरेका छैनौं। प्रहरीद्वारा देखाइएका फोटो र भिडियोहरू अन्य दिनका निजी निम्तो कार्यक्रमका हुन्।”चक्रे मिलनले स्वीकारे, ठूला संख्यामा युवाहरूलाई भेला गर्नु नै गल्ती भएको हुन सक्छ, तर अभद्र व्यवहार वा सार्वजनिक अवरोध गर्नु उनको उद्देश्य थिएन।