काठमाडौ । पाँचखालमा स्थापना गर्न लागिएको असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्णरुपमा वातावरणमैत्री रहेको निर्माण कम्पनीले जनाएको छ ।
बन्दन भगवती निर्माण सेवा प्रालिले बुधबार धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गरी असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्ण वातावरणमैत्री रहेको र यसअघि नै मुलुकका विभिन्न भागमा त्यस्ता प्लान्ट स्थापना भइसकेको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक रामजी पन्तले सूचना प्रविधिमा आएको सहजताका कारण आजका दिनमा जो कोहीले निर्माण उद्योगमा प्रयोग हुने उपकरणका विषयमा तत्काल सबै जानकारी पाउन सक्ने बताए । राष्ट्रिय प्रतिष्ठाको विषय बनेको सूर्यविनायक—साँगा—धुलिखेल तथा निकट भविष्यमा निर्माण हुने धुलिखेल—खावा सडकसहित पाँचखाल नगरपालिकाभित्र रहेका विभिन्न सडकमा असफाल्ट पिच गर्ने उद्देश्यले उक्त प्लान्ट स्थापना गर्न लागिएको पन्तले बताए ।
उनका अनुसार अम्मान कम्पनी निर्माण उद्योगका लागि अत्यावश्यक असफाल्ट ब्याच मिक्स प्लान्ट उत्पादनका लागि संसारभर ख्याती कमाएको कम्पनी हो । सो कम्पनी युरोपेली मापदण्डको स्विस प्रविधिमा आधारित रहेको प्रबन्ध निर्देशक पन्तले बताए । ‘समय सापेक्षरुपमा आफूलाई प्रविधि तथा पूर्ण वातावरणमैत्री बनाउँदै आएकाले यो कम्पनी गुणस्तरीय निर्माण कार्यमा प्रतिबद्ध विश्वभरका कम्पनीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ’ पन्तले भने । उनका अनुसार अम्मान कम्पनीले निर्माण कार्यसँग सम्बन्धित दुई सय ८० भन्दा बढी निर्माण यन्त्र तथा उपकरणहरू उत्पादन गर्दै आएको छ ।
गुणस्तरीय तथा पूर्ण वातावरणमैत्री भएकाले नै विश्वभर स्थापित दुई सयभन्दा बढी डिलर तथा पार्टनरले यस कम्पनीसँग सहकार्य गरेको पन्तले बताए । सोही अवसरमा भिडियो प्रदर्शनीमार्फत समेत विभिन्न प्राविधिक पक्षहरू देखाई अम्मान कम्पनीको असफाल्ट ब्याच मिक्स प्लान्ट पूर्र्ण वातावरणमैत्री भएको प्रष्ट पारिएको थियो ।