काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले नेपालमा १८ अर्ब रुपैयाँ बराबरको काठ आयात भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शाहीले गत आर्थिक वर्षमा करिब १८ अर्ब बराबरको काठ आयात भएको जानकारी दिए ।
मन्त्री शाहीले देशभित्रै काठजन्य सामग्री उत्पादन गर्ने उद्योग बढी मात्रामा खोल्न सकेमा काठजन्य सामग्री आयात प्रतिस्थापन हुने बताए । यसका लागि खेर जाने काठ उपयोगमा देखिँदै आएको कानुनी अड्चन हटाउन सरकारले नीतिगत निर्णय गर्ने जानकारी दिए । कानुनी सुधार र व्यावहारिक उपयोग गर्न जुन ठाउँमा काठ उपलब्ध हुन्छ, त्यहाँ संकलन र उपयोग गर्ने किसिमको नीतिगत निर्णय गर्ने उनको भनाइ थियो । मन्त्रालयले ढलेका, सुकेका रुखको उपयोग गर्नेबारे गठित कार्यदलबाट अध्ययन भइरहेको समेत उनले जानकारी दिए । उक्त कार्यदलको प्रतिवेदन र सुझावका आधारमा कार्यान्वयनको योजना बनाउने उनले बताए ।
रुखको पर्याप्त उपयोग गर्दै काठमा आत्मनिर्भर बनाउने र रोजगारीको व्यवस्था गर्ने मन्त्रालय लागिपरेको उनको भनाइ थियो । ‘वर्तमानमा देशभित्र काठजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ (काठ) उपलब्ध गराउन हामीसँग पूर्ण क्षमता छ’, उनले भने, ‘सँगसँगै, वनको व्यवस्थापन, काठ, दाउराको उत्पादन र आपूर्ति संविधानबमोजिम प्रदेश सरकारको अधिकार र जिम्मेवारीको विषय समेत भएकाले प्रदेश सरकारसँग समन्वय गरी कार्य सञ्चालन भइरहेको जानकारी गराउँदछु ।’ बैठकमा मन्त्री शाहीले वन क्षेत्रको वृद्धि र कार्बन सञ्चितिमा भएका प्रगतिको बारेमा पनि जानकारी दिएका थिए ।