गुल्मी , गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न क्षेत्रमा निर्माण कार्य सम्पन्न गरे पनि अझै भुक्तानी नपाएपछि गुल्मीका निर्माण व्यवसायी आन्दोलित भएका छन्। उनीहरूले “हाम्रो पसिना, हाम्रो अधिकार” भन्ने मूल नारासहित शुक्रबार सडक पूर्वाधार विकास कार्यालय अगाडि धर्ना दिएका छन्।व्यवसायीहरूको भनाइमा, प्रदेश सरकारले असार १५ मै खाता बन्द गरिसके पनि हालसम्म खाता सञ्चालनमा ढिलाइ हुँदा उनीहरू थप आर्थिक संकटमा परेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयले समयमै खाता सञ्चालन नगर्दा श्रमिकको पारिश्रमिक तिर्न, ऋण चुक्ता गर्न र दैनिक खर्च धान्न गाह्रो भएको गुनासो गरिएको छ। निर्माण व्यवसायी सङ्घ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले भने, “हाम्रो श्रमको उचित सम्मान हुनुपर्छ, रोजीरोटी सुरक्षित हुनुपर्छ। घर–सम्पत्ति बन्धक राखेर सम्पन्न भएका योजनाको रकम तुरुन्त भुक्तानी गरिनुपर्छ। कृत्रिम अभाव, कालोबजारी र भ्रष्टाचार अन्त्य गर्नुपर्छ। भुक्तानी गर्न नसक्ने प्रदेश सरकार खारेजी हाम्रो माग हो,” भन्दै तत्काल भुक्तानीको अवस्था सिर्जना नभए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिए। धर्नाका क्रममा व्यवसायीहरूले “भुक्तानी देऊ, श्रमको सम्मान गर”, “बजेट अभावको बहाना बन्द गर” र “भुक्तानी नगर्ने सरकारको खारेजी चाहिन्छ” जस्ता नारासहितका ब्यानर र प्लेकार्ड बोकेका थिए। गत आर्थिक वर्षमा सम्पन्न धेरै परियोजनाको रकम संघीय, प्रदेश र स्थानीय सरकारको बजेट अभावका कारण रोकिएको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा ती रकम भुक्तानी हुने भनिए पनि अझै नपाउँदा व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको बताएका छन्। संयमका साथ प्रतीक्षा गरे पनि समस्या समाधान नभएपछि उनीहरूले आन्दोलनको बाटो रोज्नु परेको हो।